माटो बिछ्याइएर ग्राभेल सम्पन्न भयो भनेपछि स्थानीय असन्तुष्ट

everest kitchen

हिमाल टाइम्स संवाददाता

चितवन । मकवानपुरको राक्सिराङ ६ स्थित खरकण्डेटार,सिलिङ्गे,सिलाधनी,खैराङ, डाँडा खर्क हुँदै पालुङ जोडिने सडक खण्डमा माटो बिछ्याएर ग्राभेल नगरेपछि स्थानीय बासी असन्तुष्ट भएका छन् । केही समय अगाडि करिब ६ करोड रुपैयाँमा मोतिदान कन्ट्रक्सनलाई ग्राभेलको लागि टेन्डर परेको उक्त रोडमा अहिलेसम्म पनि ग्राभेल गरिएको छैन ।

“ग्राभेल सम्पन्न भयो । अब ८ सय मिटर मात्रै बाँकी छ” भनेर शुक्रबार ठेकेदार कम्पनीका कर्मचारी र मेसिनहरु त्यहाँबाट फर्कि सकेको जानकारी पाएको एक स्थानीयले बताए । उनका अनुसार यस बिषयमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुलाई पनि सोधेको तर हामीले मात्रै बोलेर हुदैन भनेर पन्छिएको बताए ।

स्थानीयका अनुसार ठेकेदार कम्पनी र सम्बन्धित निकाय , ईन्जिनियरको मिलेमतोमा ग्राभेल सम्पन्न भएको देखाएर ठग्न खोजेको पाइएको बताएका छन् । ग्राभेलको नाममा सडक आसपासको ढुंगा र माटो मिश्रित माटो मात्रै बिछ्याएको र केही स्थानमा लोडरले पेलेपनि अधिकांस स्थानमा लोडरले नपेलेरै कम्पनी त्यहाँ काम रोकेको बताएको छ । यस विषयमा जनप्रतिनिधिले अनुगमन समेत नगरेर मौन रहेको उनीहरूले बताए ।

यस बारे सोही वडाका वडाअध्यक्ष सिंग लाल प्रज्ञासंग बुझ्दा ग्राभेल पुर्णतः नगरेर माटो मात्रै बिछ्याइएको पाएको बताए । यो स्थानीय बजेटबाट ठेक्का नभई केन्द्रको बजेटबाट भएकोले यसबारे धेरै कुरा आफूलाई जानकारी नभएको र काम सम्पन्न गरे भनेर फर्किएको होकी वा काम सम्पन्न गर्ने गरि फेरि काम गरिने हो । यस बारे थप बुझेर पहल गरिने वडा अध्यक्ष प्रजाले बताए ।