कर्णाली प्रदेशले सञ्चार गृहहरूलाई आर्थिक सहयोग गर्ने

everest kitchen

 

काठमाडौं । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरिएको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले प्रसारकका साथै प्रकाशक सञ्चार गृहलाई पनि आर्थिक सहयोग गर्ने बताए।

‘कर्णालीका एफएम रेडियो, केवल, टेलिभिजन र सिनेमालाई सूचना प्रसारण गरेवापत रु एक लाख दिने निर्णय गरेका छौँ। शुरुआतमा यसको ५० प्रतिशत रकम उपलब्ध गराउँछौँ र सूचना प्रकाशन प्रसारणपछि पूरा रकम उपलब्ध गराउँछौँ ,’ उनले भने।

मन्त्री भण्डारीले प्रसारक सञ्चार गृहलाई मात्र नभई छापा माध्यमका लागि पनि केही रकम छुट्याएको बताए। कर्णालीका पत्रकारहरुका लागि दुर्घटना बिमाको कार्यक्रम ल्याएको जनाउँदै उनले भने, ‘हामीले पत्रकारिता विषयअन्तर्गत स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ। अहिले पत्रकारहरु छात्रवृत्तिबाट पत्रकारिता विषय अध्ययन गरिरहनुभएको छ।’

उनले अनुसन्धानविनाको समाचार प्रकाशन तथा प्रसारणले नागरिकको मन जित्न नसक्ने भन्दै त्रुटिपूर्ण नभई अनुसन्धानात्मक ढङ्गले स्रोतको पुष्टि हुने गरी समाचारहरु सम्प्रेषण गर्न सुझाव दिए।