प्रहरीले गाउँमा जबर्जस्ती तोडफोड गर्दै वडाअध्यक्षलाई नियन्त्रणमा लिएपछि गाउँपालिकाको भत्सर्ना

everest kitchen

काठमाडौं । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं १ घ्याङसिटारमा गएराती शनिबार करीब ८ बजे सादा पोसाकका प्रहरीले गाउँमा जबर्जस्ती तोडफोड गर्दै वडाअध्यक्षलाई नियन्त्रणमा लिएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका सोही वडाका वडाअध्यक्ष कान्छाराम रुम्बाको रिहाइको माग गर्दै घटनाको कारण उत्पन्न परस्थितीको जिम्मेवार लिनुपर्ने बताएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “शनिबार केही अज्ञात व्यक्तिहरुले स्थानीय मान बहादुर स्याङतान , कान्छामान स्याङतान र लक्ष्मण भ्लोनको घरमा कैलाश गाउँपालिका -१० थापलेख बस्ने सुभाष पाख्रिनको नेतृत्वमा लागुऔषध रहेको भन्ने नाममा खानतलासी गरी पसल तोडफोडगरी खाद्यान्न , तेल , पेय पदार्थ आदी नष्ट गर्दा स्थानीय बासीन्दाहरु प्रतिकार गर्न खोज्दा पछिमात्र सिभिलमा प्रहरीहरु रहेको जानकारी प्राप्त भएपछि वडा नं . १ का वडा अध्यक्ष कान्छाराम रुम्बाले परिस्थितिलाई सहज बनाउन खोज्दा लछारपछार गरी नियन्त्रणमा लिएकोले गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिका आफ्ना नागरिकको सुरक्षा प्रति संवेदनशिल रहेको अवस्थामा गाउँपालिकालाई कुनै जानकारी नै नदिई छापामार शैलीमा खानतलासी गर्ने , रातको समयमा शान्ति सुरक्षामा खलल पुयाउने जस्ता अमानवीय दुखद घटना भएको गाउँपालिकाले बताएको छ ।

संविधानको मर्म र संघीयताको भावना विपरीत स्थानीय सरकारसंग कुनैपनि समन्वय र सहकार्य नगरी निर्वाचित जनप्रतिनिधिलाई समात्ने कार्य गरेकोमा त्यस्ता कार्यहरु प्रति यस गाउँपालिका घोर भत्सना गर्दै निज वडा अध्यक्ष श्री कान्छाराम रुम्बाको प्रहरी प्रशासन समक्ष तत्काल रिहाईको गाउँपालिकाले आग्रह गरेको छ । अन्यथा यस घटनाको कारणले सृजित हुन सक्ने जस्तो सुकै परिस्थिति प्रति सम्बन्धित निकायनै जिम्मेवार रहनु पर्ने विज्ञप्तिमा उल्लेख रहेको छ ।