कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा

everest kitchen

सुर्खेत। हुम्लामा पहिलो पटक कर्णाली प्रदेशस्तरीय फुटबल लिग प्रतियोगिता हुने भएको छ । हुम्ला फटबल एकेडेमीको आयोजनामा आगामी चैत महिनामा हुने सो प्रतियोगिताको आवश्यक तयारी भइरहेको एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए ।

जिल्लामा नयाँ दर्ता हुन चाहने तथा दर्ता भइसकेका पुराना क्लबलाई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लिगको तयारीमा जुट्न उनले आग्रह गर्न । लिगमा ६ टोली मात्र समावेश गरिने हुँदा दर्ता भएका क्लबबीच नकआउट प्रतियोगिता सञ्चालन गरी त्यसबाट छनोट भएका क्लबबीच लिग प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।

पुराना तथा नयाँ क्लबले आवश्यक प्रक्रिया पूरा गरेर यही फागुन १० देखि २५ गतेसम्म एकेडेमीको कार्यालयमा आफ्नो क्लब दर्ता गराइसक्नुपर्ने र त्यसपछि दर्ता हुन आएका क्लबलाई प्रतियोगितामा समावेश गराउन नसकिने अध्यक्ष रावतले बताए । लिगमा प्रथम स्थान प्राप्त गर्ने क्लबले पुरस्कार स्वरुप रु ७५ हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यही क्लबले प्रदेश फुटबल लिगमा भाग लिन पाउने भएका छन् ।

त्यसैगरी लिगमा द्वितीय स्थान प्राप्त गर्ने क्लबले पुरुस्कार स्वरुप रु ४० हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ । सर्वोत्कृष्ठ गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कारद्वारा सम्मानित गरिने अध्यक्ष रावतले जानकारी दिए ।