जनता र संविधानको जित : सभामुख

everest kitchen

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी आज गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गरेका छन् ।

आजको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उनको भनाइ छ । उनले जनताको भावनालाई अदालतले सम्मान गरेको भन्दै आजको निर्णयपछि नेपालको न्यायालयप्रतिको विश्वास झनै बढेर गएको बताए । रासससँग कुरा गर्दै उनले भने, “नेपालको न्यायालयप्रतिको सम्मान झनै बढेर गएको र त्यसले गुणात्मक फड्को मारेको छ ।”

उनले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा लाग्नुभएका राजनीतिक दल, नागरिक समाज, पत्रकार, कानून व्यवसायी सबैलाई धन्यवाद दिँदै उनीहरुले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे । सभामुख सापकोटाले संविधान अनुसार राज्यका तीनवटै अङ्गबीचको शक्ति पृथकीकरण र सन्तुलन कायम गर्न फैसलाले मार्गप्रशस्त गरेकोसमेत बताए ।

सभामुख सापकोटाले फैसलालाई जनताको पक्षमा भएको महत्वपूर्ण निर्णय भन्दै अब सरोकार भएका सबै पक्षसँग छलफल गरेरर सहमतिका आधारमा संघीय संसद् अगाडि बढ्ने जानकारी दिए ।