“परीक्षा” – नर पल्लव

everest kitchen

लघुकथाः परीक्षा

नर पल्लव

आफना प्रेमीत्रयसँग एक्लाएक्लै भेट गर्न मन पराउने कुमुदिनी त्यो दिन गम्भीर मुद्रामा सोचमग्न थिई। उनीहरू तीनै जनाले राख्दै आएको विवाहको प्रस्तावबारे असमञ्जस स्थितिमा ऊ चिन्तन गरिरहेकी थिई। ‘को योग्य?’ ऊ निकर्योल्न सकिरहेकी थिइन। गम्भीर रूपमा चिनतनमनन गरेपछि अन्ततः ऊ निष्कर्षमा पुगी, प्रेमीत्रयको परीक्षा ।

परीक्षा लिने सिलसिलामा पहिलो प्रेमींसँग रेस्टुरेन्टमा चियाचमेना गरिरहेको बेला उसले अकस्तमात् कुनाको टेबलमा बसेको उही गुन्डालाई देखी जसले उसलाई केही दिनअगि मात्र बलात्कार गर्ने दुस्साहस गरेको थियो। पहिलो प्रेमीसँग उसले त्यो घटनाको बेलिबिस्तार लगाई। “त्यसको यत्रो हिम्मत! त्यसलाई म छोडदिनँ।’ भन्दै ऊ गुन्डामाथि जाइलाग्यो। एकछिन पछि ऊ प्रहरीको हिरासतमा याचना गर्दै थियो।

अर्को दिन ऊ दोस्रो प्रेमीसँग एउटा रमणीय डाँडापाखातिर विचरण गरिरहेकी थिई। “आहा! कति सुन्दर लालीगुराँसको फूल!” डाँडापाखातिर ढपक्कै फुलेको लालीगुँरास देखेर ऊ मुग्ध भएकी थिई। “लालीगुँरासको फूल चुल्ठोमा सिउरिन मन लाग्यो। टिपेर ल्याइदेऊ न।” उसले आफ्नो इच्छा जताउँदे भनी। प्रेयसीको आग्रह स्वीकार गर्दै ऊ फूल टिप्न भिरपाखातिर उक्लियो। तत्पश्चात् इमरजेन्सी वार्डमा उसको उपचार हुँदै थियो।

केही दिनपछि ऊ फेरि उही डाँडापाखातिरको थुम्कोमा बसेर तेस्रो प्रेमीसँग प्रेमालाप गरिरहेकी थिई।––“…..मेरा लागि जस्तोसुकै कुरा त्याग गर्न सक्छु भन्छौ, घरपरिवार छोड्न सक्छु पनि भन्छौ अनि आकाशको तारा पनि झारिदिन सक्छु, भन्छौ। अरु फेरि के के……।” अनि ऊ हाँस्दै भन्न थाली, “ल अब भन, मेरा लागि अरु के गर्न सक्छौ?”
“परीक्षा लिई हेर। थाहा पाइहालिन्छ नि!” तेश्रो प्रेमीले जवाफ दियो।

“उ ! हेर त, त्यो डाँडामाथि फुलेको लालीगुराँस साह्रै नै सुन्दर छ। अरू थोक न सहि त्यो फूलै सहि उपहारको रुपमा भेट गर्न सक्छौ?”

“तिमीले लिन खोजेको परीक्षा यही हो? माफ गर। तिमीसँग अहिले नै यति बेला सम्बन्ध बिच्छेद गर्छु। तिंमीसँगको यो अन्तिम भेट! गुड बाई।”
“गुड बाई होइन, बेस्ट विसेस्। कङ्ग्रेजुलेसन्स्!” अन्तिम प्रेमीको हात तान्दै उसले भनी।
***