विश्वभरका नेपालीले एकसाथ मनाए अन्तर्राष्ट्रिय नारी दिवश

everest kitchen

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस) को महिला समिति र अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्रको संयुक्त आयोजनामा आइतबार विश्वभरका नेपालीले एक भव्य कार्यक्रमका गदै एकसाथ १११ औं नारी दिवस मनाएका छन् ।

कार्यक्रम महिला अध्ययन विज्ञ तथा साहित्यकार डा. रेणु थापा ‘शोलु’को अध्यक्षतामा संचालन भएको थियो । सम्मेलनको मुख्य अतिथि काठमाडौं विश्वविद्यालयका पूर्व डिन प्राडा टंकनाथ शर्मा र अन्य अतिथिहरूमा प्राडा श्रीरामप्रसाद उपाध्याय, प्राडा सुशन आचार्य, प्राडा मीरा मिश्र, प्राडा बिन्दु पोख्रेल, सहप्राडा भगवती उपाध्याय, प्राडा लक्ष्मण ज्ञवाली, प्राडा मोतीलाल घिमिरे, समालोचक तथा विश्लेषक प्राडा विष्णु कार्की, प्राडा पुष्पलाल दमाई, सहप्राडा नारायण गैरे, भाषाविद् डा तारामणि राई, डा भूपाल पाण्डे, सह प्राडा पुष्पा घिमिरे, साहित्यकार महेश पौड्याल, नम्रता शर्मा, शान्ता लक्ष्मी श्रेष्ठ, डा जानुका पौडेललगायत रहेका थिए ।

कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै महिला अधिकारकर्मी नजबुल खानले आशनमा महिला, भाषणमा महिला र शासनमा महिला अभियानलाई अनिवार्यरुपमा लागु गर्नुपर्ने कुरामा जोड दिए । उनले नेपालमा अहिले हरेक जसो ठाउँमा महिलालाई उपमेयर, उपाध्यक्ष जस्ता पदमात्र दिएर अझै दोश्रो दर्जाको व्यबहार गरिएको भन्दै भन्नु भयो ‘हामी महिलालाई उप बनाएर चुप लगाउन खोजिएको छ । तर हामी महिलाहरु उप भएर चुप बस्नु हुदैन, हामी हरेक ठाउँमा प्रमुख पदमा पुग्नुपर्छ । महिला नेतृत्वमा पुगेमात्र हत्या, हिंसा, बलात्कार र एसिड प्रहार जस्ता घटनाको अन्त्य हुन्छ ।’

त्यसैगरि अधिवक्ता तथा बिगत अढाई दशकदेखि अमेरिकामा रहेर घरेलु हिंसासम्बन्धी काम गरिरहुनु भएकी उर्मिला निर्दोषीले भने ‘आज पनि संसारभर हरेक हिसावले महिलामाथि अनेकौं खाले घरेलु हिंसा भइरहेको छ, यो एक खाले भाईरस हो यसले परिवार र समाजलाई खाएर कमजोर बनाईरहेको छ, यसको जति सक्दो चाँडो अन्त्य गर्दामात्र मानव कल्याण हुन्छ । त्यसैले हरेक देशले सशक्त कानुन बनाएर कडारुपमा कार्यन्वयन गर्नुपर्छ । साथै जबसम्म सामाजिक सोचमा परिवर्तन आमुल परिवर्तन आउदैन र घरबाटै लैंगिक समानतता कायम हुदैन तबसम्म महिलामाथि हुने घरेलु हिंसाको अन्त्य असंभव रहेको छ ।’

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै साहित्यकार तथा महिला अधिकारकर्मी बिना थिङ तामाङले भन्नुभयो ‘आज पनि संसारभर पुरषसत्ता हाबी भैरहेको छ । महिलालाई साच्चिकै अगाडि बढाउने हो भने ज्ञान तथा अर्थ आर्जन र सामजिक सम्वन्ध बिस्तार गर्न मुख्य गरि जोड दिनुपर्छ । महिला पछाडि पर्दा पुरुषहरुले समेत अनेक खाले समस्या भोग्नु परिरहेको छ, त्यसैले सबै मिलेर महिला सशक्तिकरणमा काम गर्नुपर्छ ।’

त्यसैगरि महान जर्मन भौतिकशास्त्री, ज्योतिषी तथा महिला अधिकारकर्मी प्राडा क्याटी निर्माणाले, विश्वभर महिलाहरुलाई जतिपनि हक, अधिकार सुनिश्चित गर्नु पर्ने हो, महिलाको लागि जुन भूमिका प्रदान गर्नु पर्ने हो र उनीहरुलाई जिउनको लागि जुन वातावरण सिर्जना गर्नु पर्ने हो त्यो गर्न नसकिएको कुरा औंल्याए ।

कार्यक्रममा इजरायली मुलकी अमेरिका निवासी रसेल ब्राउनले अमेरिका र इजरायलको उदाहरण दिदै संसारभर नै महिलाको अबस्था आज पनि दयनीय रहेकाले उनीहरुको उत्थान, समृध्दि र कल्याणका लागि अग्रगामी काम गर्नु पर्ने आवश्यकतामा जोड दिए ।

त्यस्तै अमेरिकी शिक्षाविद् तथा महिला अभियान्ता डा रायन भैबैरले विश्वमा महिला सशक्तिकरणको क्षेत्रमा थुप्रै खाले अभियानहरु चलाईए पनि पर्याप्त नभएकोले गर्दा थप स्रोत र साधनका साथ काम गर्नु पर्ने स्पष्ट पारे ।

कार्यक्रमकी प्रमुख वक्ता समेत रहनु भएकी डा. रेणुका थापा ‘सोलु’ले नेपालको जनसंख्याको ५१ प्रतिशत हिस्सा ओगटेका महिलालाई पछि पारेर राज्यको विकास संभव नभएकोले महिलालाई पनि सशक्त बनाउदै राज्यको मूल धारमा ल्याउनु पर्ने कुरामा जोड दिदै भने , ‘महिला अधिकरको कुरा गर्नु भनेको पुरुषको बिरुध्दमा बोल्नु होईन । हामीले पितृसत्तालाई ढालेर मातृसत्ता स्थापना गर्न खोजेका होइनौ बरु महिला र पुरष बराबर हुने समानतामूलक समाजको लागि लडिरहेको छौं ।

‘ उनले महिलाको उपस्थितिमात्र भएर नपग्ने कुरामा जोड दिदै थप्नुभयो ‘आजको दिनमा महिलाको उपस्थिति कति छ भन्ने भन्दा पनि कहाँ छ, अर्थपुर्ण सहभागिता छ छैन भन्ने कुरामा विशेष ख्याल गर्नु पर्छ ।’ त्यस्तै, हाम्रा धेरै सामाजिक संस्कार र रितिरिवाजले समेत महिलालाई पछि पारिरहेको हुँदा अब उप्रान्त संस्कारको नाममा महिलामाथि हुने हिंसालाई सचेतरुपमा निर्मुल पार्नु पर्ने कुरामा उनले जोड दिए ।

कार्यक्रममा सुभद्रा थापा भन्डारीले अष्ट्रियाबाट, नमिता दवाडीले न्युजिल्याण्डबाट, बिना थिङ, दिक्षा भन्डारी, रुपा चामलिङ, रेणु चामलिङ, ऋदिमा रिमाल र शोभा खनाल कोईरालाले नेपालबाट, शान्ति अर्याल अधिकारीले पोर्चुगलबाट र राधिका सुवेदीले इजरायलबाट महिला सशक्तिकरणसम्वन्धी कविता वाचन गरेका थिए ।

त्यसैगरि कार्यक्रममा बरिष्ठ साहित्यकार तथा समालोचक महेश पौड्यालले शुभकामना राख्दै, आम पुरुषहरु विवेखि बन्नुपर्ने, सच्चिनु पर्ने र संसारको चक्र महिला र पुरुषको सम्यक र प्रेमपूर्ण सम्बन्धले मात्र संभव छ भन्ने कुरालाई भित्रैबाट बोध गर्नु पर्ने बताए । उनले समाजमा हुने महिला हिंसा र बलत्कार जस्ता घटनाले आफुलाई पुरुष भएकोमा लज्जाबोध हुने समेत बताए ।

त्यसैगरि शुभकामना मन्तव्य राख्दै समाजका अध्यक्ष अर्जुन घिमिरेले देश तथा बिदेशबाट निरन्तर महिलाको विकास र उत्थानको लागि आवाज उठाउदै आएको र निरन्तर यस्ता गतिबिधी गर्नेसमेत बताए । साथै उनले निकट भविष्यमा संस्थाले नेपाली भाषा र साहित्यसम्वन्धी भर्चुअलरुपमा विश्व सम्मेलन गर्न लागेको समेत जानकारी दिए ।

संसारभरबाट बाक्लो उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नीतु खतिवडा, सुप्रिया बस्नेत घिमिरे, दिक्षा भन्डारी र कुशुम गुरुङले गरेका थिए ।