कविता बोहरा मृत्यु प्रकरण: दोषी पत्ता लगाउने प्रहरी निरीक्षक ओली सम्मानित

everest kitchen

काठमाडौं । गतवर्षको फागुनमा धारिलो हतियार प्रयोग गरि मारिएकी सल्यानकी कविता बोहराको ज्यान लिने दोषी पत्ता लगाउने प्रहरी निरीक्षक लक्ष्मण ओली सम्मानित भएका छन् । निरीक्षक ओली नेतृत्वको प्रहरीको अनुसन्धान टोलीले एक वर्षपछि घटनाका मुख्य दोषीलाई पक्राउ गरेको हो ।

जिल्लाको त्रिवेणी गाउँपालिका-१ तल्लो काभ्रा निवासी १६ वर्षीया कविताको सोहि गाउँका १६ वर्षिय कृष्ण थापाले ज्यान लिएको निरीक्षक ओली नेतृत्वको प्रहरी टोलीले पत्ता लगाएपछि ओलीलाई जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले सम्मान गरेका हुन् ।

प्रहरी अनुसन्धानका अनुसार कवितालाई कृष्णले एकतर्फी प्रेम गरेको र प्रेम स्वीकार नगरेपछि खुकुरी प्रहार गरी ज्यान लिएको खुलेको हो । प्रेम दिवसको राति भएको घटना प्रेम सम्बन्ध कै कारण हुनसक्ने प्रहरीको अनुमान थियो । सोही अनुसार प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।उनीहरू दुवै जनाको गाउँ एउटै हो ।

जिल्ला प्रहरी प्रमुख थापाका अनुसार ‘धेरै पटक कृष्णले कवितालाई प्रेम प्रस्ताव राखेको तर कविताबाट कुनै किसिमको प्रतिक्रिया नआएपछि प्रेम दिवसको दिन अन्तिम पटक प्रेम प्रस्ताव राख्दा कविताले आफु अरुसंगै प्रेममा रहेको बताएपछि झिनो आशा समेत नभएको देखेपछि कृष्णले घटना घटाएको देखिन्छ ।

कविताको घरमा फोनको नेटवर्कले काम नगर्ने भएकोले उनले संधै आँगनको डिलमा गएर फोन गर्ने गरेको र घटना हुने राति पनि कविता फोन गर्न आँगनको डिलमा गएको मौकामा कृष्णले कवितामाथि खुकुरी प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।

आरोपीत १८ वर्षमुनिको भएकोले जिल्ला अदालत सल्यानको अनुमतीमा बाल सुधार केन्द्र नेपालगंज राखिएको प्रहरीले जनाएको छ ।