कर्णाली प्रदेश सरकार परिवर्तन गर्न ओलीको तयारी, नेपाल पक्ष असहमत

everest kitchen

सुर्खेत । फेरि कर्णाली प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको छ । यसअघी पार्टी एकीकृत रहेकै अवस्थामा सरकार फेर्ने असफल प्रयास भएको थियो । फेरि एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल समूह सरकार ढाल्न लागिपरेको हो ।

बुधबार बसेको केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बैठकमा एमाले प्रदेश इञ्चार्ज कँडेल सहित १० जना सांसदहरु सहभागी थिए । कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै अब प्रक्रियाबाट नयाँ सरकार गठनमा लागिने बताए ।

यद्यपि एमालेकै माधव नेपाल पक्ष भने महेन्द्र बहादुर शाही नेतृत्वको माओवादी सरकारलाई नै निरन्तरता दिने पक्षमा देखिएको छ । माधव नेपाल पक्षका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ओली पक्षले गरेको ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रिया सम्मत नभएको प्रष्ट पारेका छन् ।’ ज्वालाले औपचारिक सूचना नदिई बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरु प्रति आफूहरुको असहमति रहेको पनि बताए ।