हाम्रो लघुकथा पाठशालाको प्रथम वार्षिकोत्सव सम्पन्न

everest kitchen

काठमाडौं । लघुकथाको उन्नयनको लागि सिकौँ र सिकाऔँँको उदेश्य बोकेर खोलिएको पेज हाम्रो लघुकथा पाठशालाले विविध कार्यक्रम गरेर अाफ्नो पहिलो वार्षिकोत्सव सम्पन्न गरेको छ।

तीनदिने कार्यकममा पहिलो दिन अाफ्ना निकटतम् सहयोगी सदस्यहरू ३१ जनालाई सम्मानपत्र वितरण गरेर सुरू भएको थियो । शुभकामनाका सन्देशहरू पेजको भित्ताभरि अाकर्षरूपमा बिहानैदेखि पोष्ट भएका थिए । सक्रीय एडमिन शुभ शर्माले पेजको साप्ताहिक कार्यक्रम प्रवाहमा प्रत्यक्ष प्रसारणमा जोडिएर उक्त दिन लघुकथावाचन पनि गरेकी थिइन्।

उक्त कार्यक्रममा साहित्यपोस्ट डट कमबाट भएको प्रतियोगितामा ` नारीशक्ती ´ बिषयमा छनोट भएका तीन उत्कृष्ट लघुकथाहरू राजु क्षत्री अपुरो , दिब्य गिरी र चोपनारायण बन्जाडेको लघुकथा वाचन गरिएको थियो । वर्षभरिका गतिविधिको जानकारी दिदै उनले लगभग पौने दुई सय लघुकथा प्रवाहमा वाचन गरेको जानकारी गराएकी थिइन् साथै सङ्ख्यात्मकरूपमा धेरै लघुकथा पोस्ट गर्ने टप टेनमा पर्ने लघुकथाकारहरूको नाम पनि घोषणा गरेकी थिइन्

दोश्रो दिनको कार्यक्रम भर्चुअल गोष्ठिबाट सम्पन्न भएको थियो। एडमिन शेखरकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एडमिन दुर्गा वनबासी शिवाकोटी लगायत दुई दर्जन लघुकथाकारहरूले आआफ्ना लघुकथा वाचन गरेका थिए। वाचन गरिएका लघुकथामा कल्याण पन्त , बलराम पौडेल , अवतार ढकालले कथामाथि टिप्पणी गरेका थिए ।

प्रमुख अतिथिको आसनबाट लघुकथा समाजका उपाध्यक्ष ध्रुब मधिकर्मीले हाम्रो लघुकथा पाठशालाका प्राय गतिविधि आफुले नियालिरहेको र छोटो समयमा धेरैको मन जित्न सकेकोमा खुशी व्यक्त गर्दै लघुकथाकारहरूलाई उचित परामर्श पनि दिए।

विशिष्ट अतिथिमा नेपाल सरकारका पूर्वमन्त्री एवं लघुकथाकार त्रिलोचन ढकाल र विशेष अतिथिमा वरिष्ठ पत्रकार एवम् समालोचक असफल गौतमले पाठशालाका उन्नतिका लागि शुभकामनाका मन्तव्य राखेका थिए।

एडमिन लता केसीको व्यवस्थापनमा सम्पन्न सो कार्यक्रमलाई एडमिन पौडेल बिमुन्सले कुशल सञ्चालन गरेकी थिइन् । कार्यक्रमको तेस्रो दिन पेजमा २४ घण्टाभित्र लघुकथा पोस्ट गरेर मनाइएको थियो। झण्डै सात दर्जन लघुकथाकारहरूले लघुकथा पोस्ट गरेको र धेरैजसो लघुकथा अति नै राम्रा भएको एडमिन राजु क्षत्री अपुरोले खुशी व्यक्त गरे।