रारा घुम्न आउने पर्यटक बढे

everest kitchen
file photo

कर्णाली। कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ ।

नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा आउने पर्यटकको सङ्ख्या बढेको हो । रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताए । “मिलीचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको छ”, उनले भने , “काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट समूहमा रारा घुम्न आउने बढिरहेका छन्, पर्यटक बढेपछि बासको समस्या हुन थालेको छ ।”

रारा वरिपरि दुई पर्यटकीय होटलसहित माझघट्ट घरवास सञ्चालन भए पनि पर्याप्त पर्यटक राख्न समस्या छ । राम्रो होटेल नहुँदा बस्नै समस्या भएको रारा घुम्न आएका नेपालगञ्जका रवीन दाहालले बताए । रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुङ्गा चालकलाई समेत भ्याइनभ्याई हुन थालेको छ । घोडामार्फत पर्यटकलाई मुर्मा, झ्यारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा घुमाउने गरिएको स्थानीयवासी भक्त रोकायाले बताए ।