ग्याँस सिलिन्डरमा लागुऔषध तस्करी, दुईजना पक्राउ

everest kitchen

काठमाडौं। लागुऔषध तस्करीका लागि तस्करहरू नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् । पछिल्लोपटक खाना पकाउने ग्याँस सिलिन्डरभित्र लुकाएर पनि लागु औषध तस्करी गर्ने गरेको खुलासा भएको हो ।

प्रहरीले ग्याँसमा लुकाएर लागुऔषध तस्करी गर्ने दुई जनालाई काठमाडौँको फर्पिङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्जको जगनाथपुर घर भएका तेजामनु गद्दी र अब्दुल्लाह गद्दी छन् । फर्पिङको चेक प्वाइन्टबाट उनीहरुलाई पक्राउ गराएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेका उनीहरुले बा.३६ प ७१३७ नम्बरको मोटरसाइकलमा सिलिन्डरभित्र लागु औषध ल्याएका थिए । प्रहरीले सिलिन्डरबाट ५ सय ६८ एम्पुल डाईजेपाम, ५ सय ७७ एम्पुल फेनारगन र ५ सय ७१ एम्पुल नुर्फिन बरामद गरेको छ ।

‘७ केजी ग्यास अट्ने सानो सिलिन्डरको पिँध काटेर लागु औषध लुकाएर काठमाडौँ ल्याएको पाइएको छ,’ डिएसपी विष्टले भने, ‘उनीहरुबारे थप अनुसन्धान भइरहेको छ ।’