इजरायलमा श्रमिक पठाउन अझै अलमल

everest kitchen
photo file

काठमाडौँ । सरकारीस्तरमा श्रमिक पठाउनका लागि इजरायलसँग श्रम सम्झौता भएको सात महिना बितिसक्दा पनि श्रमिक पठाउने विषय टुङ्गो लाग्न सकेको छैन । दुवै देशबीचको श्रम सम्झौतामा पुसदेखि नेपाली श्रमिक इजरायल पठाउन सुरु गरिने भनिए पनि श्रमिक पठाउनका लागि बनाइएको कार्यविधि गत मङ्सिरदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोकिएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतमणि पाण्डेले कार्यविधिका आवश्यक विषयमा सरोकारवाला र सम्बन्धित मन्त्रालयसँग राय माग्ने काम गरिरहेकोे जानकारी दिए । कार्यविधि अन्तिम चरणमा पुगेको र यो पास गरेर वैदेशिक रोजगार विभागमा गएपछि श्रमिक पठाउन बाटो खुल्ने उनको भनाइ छ । नेपालबाट इजरायल सरकारले हेरचाहका लागि नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता सम्पन्न भएको थियो ।

गत असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायली नागरिकसरहको सेवा सुविधा दिनेगरी श्रम सम्झौता सम्पन्न भएको थियो । सोही सम्झौताका आधारमा सन् २०२१ को जनवरीदेखि नेपालबाट श्रमिक छनोट गरेर लैजाने प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ । पहिलो चरणमा पाँच सय जनालाई केयरगिभर, नर्सिङ र स्वास्थ्य क्षेत्रको रोजगारीमा इजरायल पठाउने गरी सरकारीस्तरमा गत असोजमा श्रम सम्झौता भएको थियो । गोरखापत्र दैनिक ।