म्यानमारमा अहिलेसम्म ७०१ को निधन, दर्जनौं थुनामा

everest kitchen

एजेन्सी। सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ । आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ ।

गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको छ । सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ ।

अनुगमनकर्ताहरुले सार्वजनिक गरेको विवरणअनुसार अरु सयौँ व्यक्ति आन्दोलनका क्रममा घाइते भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात रहेको छ । पछिल्लो पटक गत शुक्रबार मात्रै एकै दिनमा सुरक्षाकर्मीहरुको आक्रमणमा परी देशको बागो क्षेत्रमा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो । केही हप्ता अगाडि म्यानमारमा प्रदर्शनकै क्रममा एकैदिनमा सयभन्दा बढीको ज्यान लिएको थियो ।

गत वर्ष सन् २०२० को नोभेम्बर ८ का दिन भएको निर्वाचन र त्यसको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले म्यानमारको सत्ता नियन्त्रणमा लिएको हो । सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेशनल लिग फर डिमोक्यासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।

सेनाले सो निर्वाचन निश्पक्ष नभएको दाबी गर्दै फेरि निर्वाचन गराउन भन्दै सत्ता नियन्त्रणमा लिनुपरेको जनाएको छ । सेनाले निर्वाचन गराउने उद्देश्यका साथ एक बर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । तत्कालीन नयाँ संसद्को पहिलो बैठक बस्न लागेकै दिन सेनाले सत्ता नियन्त्रणमा लिएपछि अहिले म्यानमारको राजनीति थप संकट तर्फ धकेलिएको छ ।

सेनाले नियन्त्रणमा रहनु भएकी नेतृ आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् । उनिमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ ।