जात्रामय बन्यो भक्तपुर र थिमि

everest kitchen

भक्तपुर। नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा आज बिहानैदेखि शुरु भएको छ । जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका बिभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

जात्राको चौथो दिन चैत ३१ गते अर्थात् पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भक्तपुर नगरपालिका–५ योसिङ्खेलमा ५५ हात लामो लिङ्गो ठड्याउने परम्परा भए पनि यसवर्ष आज दिउँसोसम्म पनि लिङ्गो उठाउन सकेको छैन । हिजो साँझदेखि नै हजारौँ स्थानीयको सहभागितामा लिङ्गो उठाउन खोज्दा पनि दिउँसोसम्म लिङ्गो उठाउन सकिएको छैन ।

पचपन्न हात लामो उक्त लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ३१ गते उठाएर १ गते दिनभर जात्रा गरी साँझ ढाल्ने परम्परा रहेको छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्काको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद्हरू बताउछन् ।