नेपाली राजदूतावास मलेसियाको सहयोगमा घाइते लेख बहादुर स्वदेश फर्किए

everest kitchen

मलेसिया । मलेसियाको एक होटलबाट लडेर घाइते भएर अस्पतालमा अलपत्र धन्कुटाको डाँडा गाउँका लेख बहादुर तामाङ नेपाली राजदुतावास मलेसियाको सहयोगमा स्वदेश फर्किएका छन् । तामाङ बिहिवार साँझ हिमालय एयरलाइन्सको उडानबाट स्वदेश फर्किएका हुन ।

आज भन्दा करिब ६ वर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको शेरम्वान राज्य स्थित एक कम्पनीमा आएका तामाङ केही समयअघि देखि अवैधानिक हैसियतमा मलेसियामा रहेका थिए । अवैधानिक भएका उनले अन्यत्र काम खोज्दै जाने क्रममा मार्च तीन तारिखमा राम गुरुङ नामका एक एजेन्टको सम्पर्कमा गएका तामाङ अर्का एक नेपाली संग मलेसियाको केलाङ स्थित एक होटलमा बस्दै आएको पाईएको दुतावासका जनसम्पर्क अधिकृत टेक बुढाले बताए ।

बुढाका अनुसार मार्च पाँचमा उनी त्यहीँ होटलबाट खसेपछि उनलाई ढाडमा गम्भीर चोट लागेको थियो । ती एजेन्ट गुरुङ र संगैका एक नेपालीको सहयोगमा केलाङ अस्पताल भर्ना गरिएपनि उनीहरू दुबै जना सम्पर्क बिहिन भएपछि अस्पताल स्वयंले नेपाली राजदुतावास मलेसियामा करिब डेढ हप्तापछि सम्पर्क गरेको थियो ।

अस्पतालको सुचनापछि अवस्था हेरेर दुतावासले नै तामाङलाई आर्थिक तथा भौतिक सहयोग गरेर स्वदेश फर्काएको श्रमसहचारी प्रकाश पन्तिले बताए । तामाङलाई एयरपोर्ट छोड्न स्वयं श्रमसहचारी पन्ति पुगेका थिए भने उनलाई हिमालय एयरलाइन्स मलेसियाका कन्ट्रिम्यनेजर सुनिल दाहाल र मिस्टर श्री ले सहयोग गरेका थिए ।