प्रज्ञामा पुस्तक प्रदर्शनी जारी

everest kitchen

काठमाडौँ। नेपाली पाठकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नयाँ वर्ष २०७८ का अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी शुरु गरेको छ ।

गत चैत ३१ गतेदेखि शुरु भएको प्रदर्शनी यही वैशाख १४ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानको पुस्तक बजार व्यवस्थापन प्रमुख सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको छ । एउटा शब्दकोश किन्दा १५ र दुई शब्दकोश किने २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

प्रदर्शनीमा ४२२ प्रकारका पुस्तक र १०० प्रकारका पत्रिका राखिएको छ । बाल साहित्य, समालोचना, कोश, दर्शन, इतिहास, संस्कृति, डायस्पोरालगायत विधाका पुस्तक प्रदर्शनीमा छन् । समकालीन साहित्य, कविता, प्रज्ञा, आँगनलगायत पत्रिका पनि प्रदर्शनीमा राखिएको छ । हात हातमा प्रज्ञाका पुस्तक पु¥याउन प्रदर्शनीले सहयोग गर्ने उहाँको विश्वास छ ।

प्रज्ञाका पुस्तक निजी क्षेत्रका व्यवसायीबाट पनि बेचबिखन गराउने उद्देश्यले टेण्डरसमेत आह्वान गर्न लागिएको छ । मोफसलसम्म पनि सहज रुपमा प्रज्ञाले प्रकाशन गरेका पुस्तक पाउने व्यवस्था गर्न लागिएको बजार व्यवस्थापन शाखा प्रमुख ढुङ्गेलले जानकारी दिनुभयो । पाठकको माग भएमा वैशाख १४ गतेपछि पनि प्रदर्शनी जारी राखिने जनाइएको छ ।