नेविसंघ पर्साद्वारा केही निजी विद्यालयले सुरु गरेको परीक्षा रोक्न माग

everest kitchen

वीरगञ्ज। नेपाल विद्यार्थी संघ पर्साले केही निजि विद्यालयहरुले सञ्चालन गरेको परीक्षा रोक्न चेतावनी दिएको छ ।

वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै पर्सा जिल्लामा बढ्दै गरेको कोरोना भाइरसको संक्रमणलाई प्रवाह नगरी शुल्क उठाउने अभिप्रायले सञ्चालन गरिएको परीक्षा यथाशिघ्र रोक्न नेविसंघ पर्साले माग गरेको छ ।
दिनप्रतिदिन कोरोना भाइरसको संक्रमणले विकराल लिँदा समेत निजि विद्यालयहरुले विद्यार्थीको स्वास्थ्यमाथी खेलवाँड गरेको नेविसंघ पर्साका सभापति विकास तिवारी र सचिब रोशन सिँह (मुन्ना) द्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

शुल्क उठाउने बहानाले विषम परिस्थितीमा पनि शुरु गरिएको परीक्षा यथाशिघ्र नरोके कडा आन्दोलन गर्ने पनि नेविसंघले विज्ञप्तीमार्फत चेतावनी दिएको छ । वीरगञ्ज महानगरपालिकाले आन्तरिक मुल्यांकनको आधारमा कक्षाबृद्धि गर्न निर्देशन जारी गरेपनि उक्त निर्देशनको अवज्ञा गरी परीक्षा सञ्चालन गर्नु गलत भएको सचिब सिँहले बताए ।

निजि विद्यालयलाई बालबालिकाको स्वास्थ्यभन्दा पनि शुल्कको लोभले महानगरको निर्णयविपरित कक्षा सञ्चालन गरिएको भन्दै सिँहले आक्रोश पोखे । यात्रा डेलीसँगको कुराकानीमा सिँहले भने, ‘विद्यार्थीको जीवनसँग खेलवाड गर्नु कुनै पनि हालतमा स्विकार्य हुँदैन, यथाशिघ्र परीक्षा नरोके झनै सशक्त कदम चाल्न बाध्य हुनेछौ ।’
वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले पनि आइतवार बिहानै महानगरको निर्देशनविपरित परीक्षा सञ्चालन भए अनुगमन गरी कारवाही गर्ने सूचना जारी गरेको थियो ।