“चुनावी चौका”

everest kitchen

लघुकथा – चुनावी चौका

मुक्ति गौतम मणिपुर (भारत)

चुनावी चाडपर्वमा गाउँको तामझाम नै चुलिन्छ । रक्सी-खसी, ओठ-नोटको महापर्व मच्चिएको हुन्छ यसबेला ।

यस भेकमा नाम चलेका पुराना सांसद रामबहादुर रायमाझीको चुनावी भाषण सुन्ने र अन्तिम अवस्थामा पुगेकी बिरामी आमाको उपचारार्थ केही रकम पाउने आशामा सिमखाडा काईंलाका सपरिवार चुनाव प्रचार सभामा जाने भए ।

रायमाझीको जनताको मन जित्ने भाषण हुँदै थियोे । एक्कासि सिमखाडा काईंलाको छिमेकी चुनावी मञ्चमा आईपुगेर अत्तालिंदै केही भनिरहेको थियोे । एक्कासि भाषण रोकियो ।

सञ्चालकले उदघोष गरे- ‘अत्यन्त दुखका साथ भन्नु परिरहेछ हाम्रा सिमखाडा दाइकी ममतामयी आमाको अहिले भर्खरै परलोक गमन भएछ । हाम्रा चुनाव क्षेत्रका जनप्रिय र दानवीर उम्मेदवार रायमाझीले शोकाकुल परिवारलाई किरिया खर्च एक लाख रूपियाँ सहयोग गर्नु भएको छ । आदरणीय उम्मेदवार सहित हामी सबै दाहसंस्कारका लागि जाउँ ।’ रायमाझी मन मनै सोची रहेको थियो- ‘यसपालिको चुनावी चौका ।’