चितवनमा कोभिड संक्रमितको संख्या बढ्यो

everest kitchen

चितवन । चितवनमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण देखिएसँगै उच्च सतर्कता समेत अपनाइएको छ । आइतबार ३२४ जना सक्रिय संक्रमित रहेको चितवनमा सोमबार ६८ जना थपिदै ३९२ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमितको संख्या बढेसँगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या समेत ११६ पुगेको छ । मृत्यु हुनेमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ७३ जना रहेका छन् ।

यस्तै, रत्ननगर नगरपालिकामा १५ जना, खैरहनी र राप्ती नगरपालिकामा ९/९ जना, कालिका नगरपालिकामा ८, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा १/१ जनाको कोरोना भाइरस संक्रमणको कारण ज्यान गएको छ । जिल्लामा ४९ हजार ३०३ जनाको स्वाव परीक्षण गर्दा ७ हजार ३५३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिए । कोरोना संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ३४ तथा होम आइसोलेसनमा ३५८ जना रहेका भन्दै जिल्लामा हालसम्म ६ हजार ८४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका तिवारीले बताए ।

हालसम्म परीक्षण गरिएकामध्ये भरतपुरमा पाँच हजार ३८७, रत्ननगरमा ८१३, खैरहनीमा ४२७, राप्तीमा ३२८, कालिकामा २०७, माडीमा १५१ र इच्छाकामनामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका कोरोना संक्रमितमध्ये चार हजार ३१९ जना पुरुष तथा तीन हजार ३० जना महिला रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनको भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र निजी क्षेत्रबाट चितवन मेडिकल कलेजले कोरोना परीक्षण गर्दै आएका छन् ।