कोरोनाबाट बाँकेमा ८ जनाको निधन

everest kitchen
photo file

बाँके। कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेका छन् । त्यस्तै बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक÷एक जनाको मृत्यु भएको उहाँले जानकारी दिए । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ । तीमध्ये बाँकेका मात्र ९७ जना रहेका छन् ।

त्यस्तै, वीरगञ्जमा मंगलबार साँझ थप एक जना कोरोना संक्रमितको मृत्यु भएपछि एकै दिन मृत्यु हुनेको संख्या ४ पुगेको छ । मंगलबार साँझ साढे सात बजे पोखरिया नगरपालिका– २ बस्ने ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १३ गते नारायणी अस्पतालमा भर्ना गरिएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा ७ बजेर ३७ मिनेटमा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । कोभिड निमोनियाले ग्रसित उनको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमका कारण मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिए । मंगलबार वीरगञ्जमा बारा परवानीपुरका ४५ वर्षका पुरुष, जितपुर सिमरा उपमहानगरपालिका–२ कि ४० वर्षकी महिला र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षकी महिलाको मृत्यु भएको थियो ।

मृत्यु भएका सबैमा अक्सिजन लेभल मेन्टेन हुन नसकेको चिकित्सकले बताएका छन् । नारायणी अस्पतालमा ५३ जना बिरामी भर्ना छन् । सबै संक्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको छ ।