उपनिर्वाचन थापालाई चुनौती

everest kitchen

काठमाडौँ। राष्ट्रियसभा सदस्य पद खारेजीपछि सोही ठाउँमा हुने उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई एमालेले पुनःउम्मेदवार बनाए पनि पुनःनिर्वाचित हुन चुनौती देखिएको छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर एमालेमा गएको भन्दै माओवादी केन्द्रले सांसद खारेज गरेपछि उनलाई एमालेले पुनः उम्मेदवार बनाएको हो। तर, थापालाई एमालेभित्रैबाट धोखा हुनसक्ने अनुमान छ। एमालेमा एक/एक पुराना नेता हुँदाहुँदै थापालाई पुनः उम्मेदवार बनाएपछि एमालेभित्रै असन्तुष्टि छ । जसबाट थापालाई निर्वाचित हुन चुनौती देखिएको हो ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा एमालेका तर्फबाट थापाले उम्मेदवारी दिने भए पनि माओवादी, कांग्रेसलगायतका दलहरूले उम्मेदवार टुंगो लगाइसकेका छैनन् । उनीहरूले मोर्चा बनाएर उम्मेदवारी दिने तयारी छ। एमालेभित्रको असन्तुष्टि र विपक्षी दलको मोर्चाबन्दीबाट थापालाई चुनाव जित्न कठिनाइ हुन लागेको स्रोतको दाबी छ। गृहमन्त्री थापा २०७४ सालको निर्वाचनमा माओवादी र एमालेको संयुक्त मतबाट निर्वाचित भएका थिए। निर्वाचन आयोगले वैशाख २४ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेस र माओवादी केन्द्र र अन्य दलमध्येबाट एकजनाको उम्मेदवारी दर्ता गर्ने कसरत भइरहेको स्रोतको दाबी छ।

माओवादी केन्द्रका प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङले पनि दलहरूबीच छलफल गरेर उम्मेदवारको टुंगो लगाउने बताए । संविधानको व्यवस्थाबमोजिम प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा राष्ट्रियसभा सदस्यमा मतदान हुनेछ। राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्यहरूको मतभार ४८ तोकिएको र स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको मतभार १८ रहेको छ। राष्ट्रियसभा सदस्यको उपचुनावमा बागमती प्रदेशका प्रदेशसभा सदस्यहरू, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर र उपमेयरहरूले मतदान गर्नेछन्। बागमती प्रदेशसभामा १ सय १० जना सांसद सदस्य र यस प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखको मत संख्या २ सय ३८ गरी ३४८ मतदाता रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रदेशसभा र स्थानीय तह दुवैमा नेकपा एमालेको बहुमत छ । प्रदेशसभाका कुल सदस्यमध्ये एमालेका ५७ र एमाले बाहेकका सबै दलको संख्या ५३ रहेको छ। प्रदेशसभा सदस्यमा कांग्रेसको २२, माओवादीका २३, विवेकशील साझाका ३, नेमकिपा र राप्रपाका २/२ मत छन् भने राजपाको एक मत छ। स्थानीय तहमा भने २ सय ३८ जना प्रमुख र उपप्रमुखमध्ये एमालेकै बहुमत छ। २ सय ३८ मध्ये एमालेका १ सय ३२ छन्। कांग्रेस, माओवादीलगायतका सबै विपक्षीको जोड्दा १ सय ६ जना मात्र पुग्छन्।

मतभार अनुसार सबै सदस्यले मतदान गरेमा एमालेको प्रदेशसभामा २७ सय ३६ मत र स्थानीय तहमा २३ सय ७६ मत गरी ५१ सय १२ मत प्राप्त हुनेछ भने अन्य दलको प्रदेशसभामा २५ सय ४४ र स्थानीय तहमा १९ सय ८ गरी ४४ सय ५२ रहेको छ । एमालेभित्रको असन्तुष्ट समूहले एमालेलाई अन्र्तघात गरेर अन्य दललाई ६ सय ६० मत दिएमा भने थापाको हार हुनेछ। गोप्य मतदान भएकाले प्रदेशसभाबाट, स्थानीय तहबाट एमालेलाई अन्र्तघात हुने सम्भावना देखिएको छ। यो समाचार नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका हुन्।