पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिदै

everest kitchen

काठमाडौँ। पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ। नर्भिक इन्टरनेसनल अस्पतालले शाहका लागि प्लाज्माको खोजी गरिरहेको हो। पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालले सम्भव भएसम्म बिहीबार नै प्लाज्माबाट उपचार गरिने बताए।

कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल वैशाख ७ गते नर्भिक अस्पताल भर्ना भएका थिए। कोमललाई भने श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार आइसियूमा सारिएको छ।

पूर्वराजा शाहको अवस्था भने सामान्य नै रहेको बताएको छ । उनलाई हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको अस्पतालले जनाएको छ। उनीहरूसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहको अवस्था सामान्य छ।

भारतको हरिद्वारबाट फर्किएपछि शाह दम्पत्तीलाई कोरोना संक्रमण भएको थियो। भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर गत आइतवार उनीहरू नयाँ‍दिल्लीबाट नेपाल फर्किएका थिए। कुम्भमेलामा गङ्गास्नान गरेका पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गरेका थिए। भारतमा कुम्भमेलामा सहभागी एक हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।