भारत लगायतबाट आएकाहरुलाई एकान्तवासमा राख्न विप्लवको माग

everest kitchen

 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भारत लगायतका देशबाट आउने आप्रवासीहरूलाई नियन्त्रणमा लिन र आएकाहरुलाई एकान्तवासमा राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एक विज्ञप्ति जारी गरी आप्रवासीहरूलाई नियन्त्रण गर्ने, एकान्तवासमा राख्न र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिन आग्रह गरेका हुन् ।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भएको जनाउँदै उनले यो अवस्थामा सरकारले लगाएको बन्दाबन्दी आफैंमा प्रयाप्त नभएको समेत जनाएका छन् । विज्ञप्तिमा महामारीसँग जुध्न सामाजिक परिचालनलाई अभियानका रूपमा सञ्चालन गर्न आग्रह गर्दै सरकारलाई स्वयंसेवकहरू परिचालन गर्न समेत सुझाव दिइएको छ । यो परिस्थितिमा सामाजिक परिचालन आवश्यक रहेको जनाउँदै यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

साथै पार्टीका सम्पूर्ण समितिहरु, विभित्र स्तरका नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, चिकित्सक, स्वास्थ्यकर्मी र जनसमुदायमा समेत सरकारको मात्र भर नपरी कोरोना महामारीसँग जुध्न होसियारीपूर्वक सामाजिक स्तरमा स्वयंसेवकका रूपमा परिचालित हुन र महामारी नियन्त्रणमा सहयोग गर्न अपिल गरिएको छ ।