पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु

everest kitchen

 

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजन दिनुपरेको छैन । उनिहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उनिहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

भारतको हरिद्वारबाट फर्किएपछि शाह दम्पत्तीलाई कोरोना संक्रमण भएको थियो। भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर गत आइतवार उनीहरू नयाँ‍दिल्लीबाट नेपाल फर्किएका थिए। कुम्भमेलामा गङ्गास्नान गरेका पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गरेका थिए। भारतमा कुम्भमेलामा सहभागी एक हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।