भिड जम्मा गरेर जोखिम उत्पन्न गर्ने सरकारले उपचार गर्न सक्दिन भन्नु लज्जास्पद

everest kitchen

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । पुर्व उर्जामन्त्री समेत रहेका पुनले कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी , आवश्यक तयारी नगरि गम्भीर लापरबाही गरेको उनको भनाइ छ ।

नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद कुरा भएको बताएका छन् । ‘आफैं लापरबाही गरेर, हजारौं हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैरजिम्मेवार कुरा हो,’ उनले भने, ‘यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्य उपचार, चेकजाँच र परीक्षणमा ध्यान दिनुपर्छ ।’

सरकारले अन्य राजनीतिक दल र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै उनले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग मागसमेत गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि उनले बताए ।

त्यस्तै विवेकशील साझा पार्टीले कोरोना संक्रमितका उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाउनुपर्नेमा यसरी लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको जनाएको छ ।

यस्तै काङ्ग्रेसले पनि यसअघि एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उपचार गर्न सक्दैन भन्नु लज्जास्पद भएको भन्दै आपत्ति जनाएको छ । उसले शनिबार एक विज्ञप्ति जारी गर्दै, “प्रधानमन्त्रीज्यू, संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्छ । ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद ! युद्धस्तरमा समाधान खोजौं !

स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो । तर संकटमा अपील गरिरहंदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ । तर ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको भन्दै अस्पतालमा बेड छैन भन्नु गैर जिम्मेवार भएको बताएको छ ।

पुरै बर्ष दिन सत्ता द्वन्दमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ? इतिहासकै सबैभन्दा गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको ब्यवहार हो यो । यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न । नेपाली कांग्रेस लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील गर्दछ विज्ञप्तिमा भनिएको छ ।