पृथ्वीमा फर्किए चार अन्तरिक्ष यात्री

everest kitchen
फोटो : नासा

एजेन्सी । स्पेस–एक्स ड्रागनमार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन्। अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका हुन्।

ती अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए। जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गामार्फत् उनीहरूलाई बाहिर निकालिएको थियो। नासाले चार अन्तरिक्ष यात्रीले आफूहरू ठीक रहेको बताएका छन्। फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा उनीहरूले अवतरण गरेका थिए।

उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ। गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा पुगेका थिए। उनीहरू एलन मस्कले निर्माण गरेको स्पेस–एक्सबाट अन्तरिक्षमा पुगेका थिए।

सात जना अन्तरिक्ष यात्रीहरू अझै पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा छन्। उनीहरू पनि स्पेस एक्समार्फत् गत साता नै अन्तरिक्षमा पुगेका हुन्।