पश्चिम बङ्गालको बिधान सभा निर्बाचनमा बनर्जीको पार्टीलाई बहुमत

everest kitchen

 

एजेन्सी। भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ । आइतबारसाँझसम्म घोषित पहिलो दुई सीटमा तृणमुल कङ्ग्रेसकी नेतृ ममता बेनर्जी र उनकै दलका अर्का एक नेता बिजयी भइसकेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन । पश्चिम बंगालका अतिरिक्त एक केन्द्र प्रशासितसहित पाँच राज्यमा भएको विधान सभा निर्वाचनको मतगणना भइरहेको हो ।

 

नयाँ नेतृत्वका लागि गत मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बंगाल, असम र पाँडेचरीमा निर्वाचन गरिएको थियो । पश्चिम बङ्गलाको नन्दीग्राम क्षेत्रबाट करिब एक हजार २०० मत अन्तरले बनर्जीले बिजयी भएका छन । बनर्जीको दलले बाँकी २०८ क्षेत्रमा अग्रता कायम गरेको छ भने केन्द्र सरकारको नेतृत्व गरेको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ७९ स्थानमा अग्रता कायम गरेको छ । अरु दलको उपस्थिति नगन्य देखिएको छ । कुनै बेला राज्यको निरन्तर नेतृत्व गरेका वामपन्थी दलले जम्मा एक सीटमा अग्रता देखिएको छ ।

 

पश्चिम बङ्गालमा पाँच वर्ष पहिले निकै कम सीट ल्याएको भाजपाले यसपटकको निर्वाचनमा निकै सुधार गरेको देखिएको छ । यद्यपि भाजपाले बनर्जीको दललाई पछि पार्न लगाएको परिश्रम भने निरर्थक हुने देखिएको छ । सन् २०१६ मा जम्मा तीन सिटमा समेटिएको भाजपाले ७५ सिट वरपर जित्नसक्ने देखिएको छ । यहाँबाट अघिल्लो निर्वाचनमा ४४ सीट जितेको विपक्षी भारतीय काँग्रेसले आइतबारसम्ममा एक सिटमा मात्र अग्रता कायम गरेको छ ।

 

त्यसैगरी, अघिल्लो चुनावमा २६ सिट जितेको कम्युनिष्ट पार्टी अफ इन्डिया (माक्र्सवादी) पनि एक सिटमा समेटिने देखिँएको छ । तमिलनाडुको २३४ सदस्यीय विधान सभामा प्रतिपक्षी ड्रभिडा मुन्नेत्र काझागम (डिएमके) ले १२९ स्थानमा अग्रता लिँदा सत्तारूढ एआइएडिएमकेले ९० स्थानमा अग्रता लिएको छ । केरलाको १४० सिटको विधानसभामा मुख्यमन्त्री पिनरई विजयन नेतृत्वको वामपन्थी प्रजातान्त्रिक मोर्चाको अग्रता देखिएको छ ।

 

असमको १२६ सदस्यीय विधान सभाका लागि भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले ७३ स्थानसहित सरकार बनाउने हैसियतमा देखिँदैछ । केन्द्र प्रशासित पाँडेचरीको ३० सिटमा भने भाजपा १६ र कंग्रेस आई १२ स्थानमा अगाडि छन् ।