माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता

everest kitchen

काठमाडौं। नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएको बारे जानकारी माओवादीले संसद सचिवालयलाई जानकारी गराएको छ । माओवादी केन्द्रले आज समर्थन फिर्ताको आधिकारिक पत्र संसद सचिवालयमा बुझाएको छ ।

बुधबार बिहान संसद सचिवालयमा पत्र दिँदै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन्। यसअघि मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

गत २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो । २८ फागुनमा एमाले र माओवादी केन्द्र पुन: अस्तित्वमा आएका थिए। त्यसयता माओवादी केन्द्र राजनीतिक रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहे पनि प्राविधिक रुपमा डेढ महिनासम्म सरकारलाई नै साथ दिइरहेको थियो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।