विवाहमा १५ जना जन्ती लैजान पाइने

everest kitchen

 

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने बताएको छ । त्यसका लागि प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ । कोरोना नियन्त्रणमा कडाई गर्ने भन्दै प्रशासनले यस्तो नियम ल्याएको बताएको छ।

प्रशासन कार्यालयले दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा विवाह ब्रतबन्धजस्ता संस्कारमा १५ जना व्यक्ति र २ वटा गाडीमा ब्यानर राखेर जिल्लाभित्र र वा अन्तर जिल्ला आवतजावत गर्न दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृत्यु संस्कारका लागि सवारी पास लिन मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस र परिचय खुल्ने कागजात चाहिने प्रशासन कार्यालयले जनाएको छ । बिरामी वा कुरुवालाई भने अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डको आधारमा आवतजावत गर्न दिने भएको छ । बिरामी भई काठमाडौं आउन वा बाहिर जान रिपोर्ट कार्ड वा भर्ना कार्ड चाहिनेछ ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको उपचार शुल्कभन्दा बढी लिने अस्पताललाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
निजी अस्पतालहरूले सरकारले तोकेको उपचार शुल्कभन्दा बढी लिएको गुनासो आएपछि मन्त्रालयले चेतावनी दिएको हो। केही निजी अस्पतालले जारी गरेको उपचार शुल्कका विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो।