बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

everest kitchen

काठमाडौँ। बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार बिहान छातीमा समस्या देखिएपछि न्यूरो अस्पताल भर्ना गरिएका उनको अस्पतालमा निधन भएको संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले बताए ।

उनका अनुसार ध्वजको उपचार गर्नुअघि गरिएको कोरोना परिक्षण भने नेगेटिभ आएको थियो । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको शेषले जानकारी दिए ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।

उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।

सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए । उनको रेडियो नेपालमा पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो।