एनआरए सिंगिङ आइडलमा ६० जना प्रतियोगी छनोट

everest kitchen

काठमाडौं । ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन २०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धा छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन् ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिष्पर्धामा भाग लिनका लागि भिडियो पठाएका २ सय ५० भन्दा बढी नवोदित गायक–गायिकाबाट उत्कृष्ट ६० जनालाई छनौट गरिएको हो ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल रहेका छन् । ६ वटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो।

ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणका लागि छनौट भएका ६० जना प्रतिष्पर्धीले आगामी ओपनिङ राउन्डमा प्रतिष्पर्धा गर्ने छन् ।

एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीले गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिष्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत् गरिएको बताएका छन् ।

साथै आगामी अप्रिल १४ र १५ तारिखका लागि तय भएको ओपनिङ राउन्ड काठमाडौंमा जारी लकडाउनका कारण केही दिनपछि सारिने रेग्मीले बताए ।

‘एनआरएनए अध्यक्ष कुमार पन्तज्यूसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही सदस्यलाई कोरोना संक्रमण देखिएको छ, उहाँहरू आराममा हुनुहुन्छ, त्यसैले केहीदिनपछि परिस्थिति अनुकूल भएपछि ओपनिङ राउन्डमा जाने हाम्रो तयारी छ,’ रेग्मीले भने ।

ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्ने छन् । सोही आधारमा प्रतिष्पर्धी अघिल्लो चरणमा प्रवेश गर्ने छन् । प्रतिष्पर्धीले ओपनिङ राउन्डमा म्यूजिक ट्य्राकमा गीत गाउने छन् ।

विश्वभरबाट डिजिटल अडिसनमार्फत् भिडियो पठाएकामध्ये पहिलो चरणमा ५० जनालाई छनौट गर्ने भनिए पनि उत्कृष्ट गायन भएका थप १० जनालाई पनि समावेश गरिएको रेग्मीले बताए ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।