लुम्बिनीमा निषेधाज्ञामा कडाइ

everest kitchen

 

बुटवल। कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो । रुपन्देहीमा बिहीबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यस्थापन केन्द्रको बैठकले वैशाख ३० सम्म यसअघि नै लागू भएको निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले एक–एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्था वैशाख ३० गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । खाद्यान्नलगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।

जिल्लामा निषेधाज्ञा लागू भएको आठौँ दिनसम्म कोरोना सङ्क्रमित थपिने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७४५ कोरोना सङ्क्रमित थपिएका छन् भने नौ जनाले ज्यान गुमाएका छन् । जिल्लामा अहिलेसम्म २४२ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, कोरोना नियन्त्रणका लागि प्युठानमा थप एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १८ देखि २४ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय बैठकले गरेको थियो । अब वैशाख मसान्तसम्म लकडाउनको समय थप भएको छ

बैठकले एन्टिजेन परीक्षणका लागि प्रदेश सरकारसँग पाँच हजार कीट माग गरेको छ । त्यसैगरी १०० थान अक्सिजन सिलिण्डर माग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।

यसैबीच जिल्लास्तरीय आइसोलेशन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । प्युठान नगरपालिका–४ बिजुवारस्थित निर्माण व्यवसायी सङ्घ प्युठानको भवनमा रहेको आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो । पचास शय्या रहेको आइसोलेशन केन्द्रमा हाल ३२ शय्या तयारी अवस्थामा रहेको नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।