अक्सिजन अभाव भएपछि थप बिरामी भर्ना नगर्ने पक्षमा ग्राण्डी अस्पताल

everest kitchen

काठमाडौं । धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो ।

एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको हो ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए ।

“कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौँ”, उनले भने ।

अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै ग्रान्डीले बिरामीसँग क्षमासमेत मागेको छ । अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने महाप्रबन्धक सिंहको भनाइ छ ।

ग्रान्डी अस्पतालले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा १०० भन्दा बढी कोरोना नभएका बिरामीले उपचार गरिरहेको छ । विसं २०६९ मा स्थापना भएको ग्रान्डी अस्पतालमा २०० भन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ ।

त्यस्तै यसअघि ललितपुर स्थित मेडीसीटी अस्पतालले पनि अक्सिजन अभाव भएको भन्दै थप बिरामी भर्ना गर्न नसकिने बताएको थियो । यस्तै काठमाडौंको जोरपाटी स्थित नेपाल मेडिकल कलेज पनि अक्सिजन अभाव भएको भन्दै बिरामीलाई अस्पताल छोडेर अन्तै अक्सिजन भएको अस्पतालमा जान भनेको थियो ।