६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानमा जोडिन एनआरएन मलेसियाको अपिल

everest kitchen

 

काठमाडौं । गैरआवासीय नेपाली संघ “एनआरएन” मलेसियाले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियान थालेको छ । सो अभियानमा जोडिन संघले एक सुचना जारी गर्दै मलेसियामा रहेका सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ ।

यस्तो छ एनआरएन मलेसियाको अपिल:
मलेसियामा स्थापित संघ संस्था संगठन तथा प्रमुख ज्यूहरु, व्यवसायी समाजसेवी बुद्धजिवि, संचारकर्मी तथा यहाँ कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु ! कोरोना भाइरसको दोश्रो भेरियन्टका कारण अहिले नेपालमा धान्नै नसक्ने विरामी बढिरहेका छन् ।

कोरोना बिरामीले अस्पतालमा बेड नपाउने मात्र हैन, धेरैले घरबाट समेत खाट लिएर अस्पतालको वरिपरी उपचार गराईरहेका, अस्पतालको प्यासेजमा उपचार गराइरहेका कारुणिक दृश्य हृदयबिदारक छन् । अति जटिल उपचारको त कुरै छोडौं, साधारण अक्सिजन मात्रै पनि नपाएर संयौं नेपालीहरुको मृत्यु भइरहेको अवस्था छ । अहिले अधिकांश अस्पतालले अक्सिजन अभाव भन्दै बिरामी लिन इन्कार गरिरहेका छन् ।

देशमा कुनैपनि किसिमको विपत परेको बेला हामि बिदेशमा बस्ने नेपालीहरुले तदारुकताका साथ आफ्नो गाँस कटाएर पनि सहयोग गर्ने गरेको हाम्रो संस्कार र परम्परा रहिआएको हुँदा यो घडिमा नेपालमा रहेका हाम्रा आदरणीय बुबा आमा, दाजु भाइ, दिदि बहिनि, छर छिमेकीको ज्यान बचाउनु पर्ने आबश्यकता फेरि आइपरेको छ ।

त्यसैले गैर आबासीय नेपाली संघले नेपालीहरुलाई पहिलो चरणमा अति आबश्यक परेको अक्सिजन र अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने अभियान शुरु गरेको छ । यस अभियानमा मध्यपूर्वमा रहेका सबै राष्ट्रिय समन्वय परिषदहरु मिलेर ६०० अक्सिजन सिलिन्डर नेपाल पठाउने तैयारी भई रहेको छ ।

अन्य राष्ट्रिय समन्वय परिषदबाट उठाइएको पैसाले चिनबाट पहिलो चरणमा १०० (एकसय) अक्सिजन पठाउने तैयारी भइरहेको छ । यो समयमा हामीले केही सहयोग गर्न जरुरी देखिएको छ ।

नेपालमा आइपरेको यो बिषम परिस्थितिमा तपाईको सहयोगको आवश्यकता छ । यो अवस्थामा संसारभरि छरिएर रहेका हामी सबै नेपालीहरुको दायित्व सम्झेर यथासक्य सहयोगको अपिल गर्दछु ।

गैरआवासीय नेपाली संघ मलेसियाले पनि कोरोना महामारी सहयोग अभियान थाल्ने जानकारी गराउँदछु । एउटा अक्सिजन सिलिन्डरले मात्र १० जनाको ज्यान जोगाउन सकिन्छ । त्यसैले मलेसियास्थित कृयाशिल रहेका संघ–संस्था र संगठनहरु, समाजसेवीहरु, वुद्धिजिवी तथा मलेसियामा कार्यरत नेपालीहरुमा सहयोग उपलब्ध गराउनका लागि हार्दिक आह्वान गर्दछु ।

थप जानकारीको लागि एनआरएन मलेसिया तथा मलाई सम्पर्क गर्नुहोला । धन्यवाद !! हरि भट्टराई अध्यक्ष । गैर आवासीय नेपाली संघ राष्ट्रय समन्वय परिषद, मलेसिया ।