अन्तिम चारमा स्थान बनाउन सङ्घर्षरत लिभरपुलले म्यान्चेष्टर यूनाइटेडलाई पराजित गर्यो

everest kitchen

काठमाडौं । प्रिमियर लिगको अन्तिम चारमा स्थान बनाउन सङ्घर्षरत लिभरपुलले म्यान्चेष्टर यूनाइटेडलाई हराएको छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेष्टर यूनाइटेडमाथि लिभरपुलले पुनरागमन जित हात पारेको हो । ओल्ड ट्राफोर्डमा जितसँगै लिभरपुलले वेष्टहमलाई पछाडि धकेल्दै पाँचौं स्थानमा उक्लेको छ । चौथो स्थानको चेल्सीको ६४ अङ्क छ । चेल्सीभन्दा एक खेल कम खेलेको लिभरपुलले ३५ खेलबाट ६० अङ्क जोडेको छ ।

रङशालाबाहिर प्रशंसकले म्यान्चेष्टर यूनाइटेडको ब्यवस्थापनको तीब्र आलोचना र प्रदर्शन गरिरहँदा खेलको दशौं मिनेटमा ब्रुनो फर्नान्डिसको गोलबाट १–० को अग्रता लियो । तर उक्त अग्रतालाई लामो समयसम्म यूनाइटेडले जोगाउन सकेन । ३४ औं मिनेटमा डिआगो जोटाको गोलबाट लिभरपुलले बराबरी गोल फर्कायो । गत् डिसेम्बर महिनामा क्रिष्टल पैलेस बिरुद्ध गरेको गोल यता लयमा नदेखिएका रोबर्टो फिरमिन्होले हाफटाइम अघि र पछि दुई गोल थप्दै लिभरपुललाई ३–१ को अग्रताको स्थितिमा पुर्याए ।

मार्कस राशफोर्डले दोस्रो हाफको मध्यतिर गोल फर्काउँदा म्यान्चेष्टर यूनाइटेडले खेलमा फर्कियो । तर मोहम्मद सलहले ९० औं मिनेटमा प्रिमियर लिगको जारी संस्करणको आफ्नो २१ औं गोल पुरा गर्दै लिभरपुलको ४–२ को जित सुनिश्चित गरे ।