प्रदेश क्रिकेट प्रशिक्षकका लागि १६ जनाको अन्तवार्ता

everest kitchen

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न प्रदेशहरुमा प्रशिक्षक नियुक्त गर्ने उदेश्यले १६ जनाको अन्तवार्ता लिएको छ । क्यानले आज जारी गरेको बिज्ञप्ती अनुसार प्रदेश स्तरीय कोचका लागि बिभिन्न २४ स्थानीय ब्यक्तिहरुले आवेदन दिएका थिए । त्यसमा १६ जनालाई छनौट गरि क्यानले शनीवार अनलाईन मार्फत अन्तवार्ता लिएको हो ।

क्यानले करिब नौ पहिना पछि सात वटा प्रदेशको प्रशिक्षक चयनका लागि अन्तरवार्ता सम्पन्न गरेको छ । यसअघि नेपालका लागि मुख्य प्रशिक्षक, जनरल म्यानेजर, क्रिकेट म्यानेजर र फाइनान्स प्रमुखको आवेदनसँगै क्यानले प्रदेश प्रशिक्षकको पनि आवेदन खोलेको थियो । तर विचमा अलमलिदा नौ महिनापछि क्यानले प्रदेश प्रशिक्षकका लागि अन्तरवार्ता सम्पन्न गरेको जनाएको छ । गत बर्षको असोजमा क्यानले आवेदन खोलेको थियो । तर अहिलेसम्म क्यानले विभिन्न कारणले यसलाई पुरा गर्न सकेको थिएन । अहिले आएर क्यानले आवेदन दिएका प्रशिक्षकको अन्तरवार्ता लिएको छ । आवेदन अनुसार प्रदेश प्रशिक्षकको लागि लेभल वन को कोचिङ गरेको हुनुपर्ने, उमेर २५ देखि ५५ बर्षको हुनुपर्ने सर्त राखिएको थियो ।

अब यो सूचीबाट सात प्रदेशका लागि सात वटा प्रशिक्षक चयन हुनेछन । अब अन्तिम चयन केहि दिनमा हुने क्यानले बताएको छ । प्रदेश प्रणालीमा क्रिकेट संघ गठन भएपनि प्रशिक्षक चयन भने नभएकाले बल्ल क्यानले त्यसमा प्रशिक्षक पठाउने तयारी गरेको छ । क्यानले आवेदन खोल्दा करिव २१ दिनको समय राखेको थियो । तर त्यो बेला प्रशिक्षक, जनरल म्यानेजर र क्रिकेट म्यानेजर चयनका लागि नै क्यानले करिव तीन महिना भन्दा बढि समय लगाएको थियो ।