प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्बोच्चमा ४ वटा रिट

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा परेका चार वटा रिट दर्ता भएको छ। प्रधानमन्त्रीले प्रतिज्ञा गर्छु भन्ने शब्दावली पढ्नुपर्दैन भन्दै लिएको शपथले राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको जिकिरसहित रिट निवेदन परेको छ ।

प्रधानमन्त्रीले कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिपाऊँ, संघीय कानुन बनाएर शपथको व्यहोरा तोकिपाऊँ त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोकिपाऊँ र सात गैरसांसदलाई दोहोर्‍याएर गरिएको असंवैधानिक नियुक्ति खारेज गरिपाऊँ भन्दै रिट दायर गरेका हुन्।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएको सर्वोच्चको रिट महाशाखा प्रमुख बाबुराम दाहालले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए। प्रधानमन्त्रीले प्रतिज्ञा गर्छु भन्ने शब्दावली पढ्नुपर्दैन भन्दै शपथ लिएका थिए । त्यस्तै, ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन्।

‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए। प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन्। ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाए। उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन्।

साथै, शपथ र शपथपछि नै प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्तिविरूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को पेश गरेका छन्।