भारतमा एकै दिनमा तीन हजार ८७४ जनाको मृत्यु

everest kitchen

एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बुधबार त्यहाँ २ लाख ७६ हजार ११० जना थप सङ्क्रमित थपिएका छन । गत सोमबार कोरोना सङ्क्रमितको यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको थियो ।

अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा सङ्क्रमण देखिने गरेको थियो । यद्यपी सोमबारको भन्दा मंगलबार र बुधबार सङ्क्रमितको संख्या बढेको पाइएको छ । मन्त्रालयले बिहीबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ८७ हजार १२२ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म भारतमा १८ करोड ७० लाख ९ हजार भन्दा बढी खोप लगाईसकेका छन । भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ । तर कतिपय शहरमा भने लगाइएको छ ।