स्पेनद्वारा कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य सामग्री हस्तान्तरण

everest kitchen

काठमाडौं । स्पेन सरकारले कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता निकायका निर्देशक म्यागडी मटिनेज सोलिमनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री त्रिपाठीले जीवनरक्षा सामग्री प्रदान गरेकामा स्पेन सरकारप्रति आभार प्रकट गरे । स्पेनद्वारा आज हस्तान्तरण गरिएका सामग्रीमा १५ थान भेन्टिलेटर, १० थान अक्सिजन कन्सन्ट्रेटर, एक लाख ४४ हजार एन्टिजेन टेष्ट किट, एक लाख ४४ हजार एफएफपीटू मास्क र ६० थान सिलिण्डर छन् ।

आजै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र निर्देशक सोलिमनबीच मन्त्रालयमा भेटवार्ता भयो । त्यसक्रममा उनीहरूबीच नेपाल–स्पेन सम्बन्ध, अन्तर्राष्ट्रिय सहायता, महामारीपछिको आर्थिक पुनरुत्थानबारे विचार आदानप्रदान भएको थियो । कोरोना महामारीविरुद्धको नेपालको लडाइँमा स्पेनको ऐक्यबद्धता प्रकट गर्दै निर्देशक सोलिमनले महामारीबाट प्रभावित भएकाहरूको उपचारमा प्राप्त सहयोग उपयोगी हुने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।