उपत्यकामा दुई दिनमा १ हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न आग्रह

everest kitchen

काठमाडौं । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णयसंगै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्‍ने खाद्यान्न किनेर राख्न अनुरोध गरेका छन ।शुक्रबार १ बजेदेखि थप एक साता निषेधाज्ञा थपिएको हो।

निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासनले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ। सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो।

यसरी किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरू पनि खोल्न नपाइने भनेपछि अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएको भन्दै सिडिओहरूले आज र भोलिमा एक सातालाई पुग्ने खाद्य सामाग्री किनेर राख्न भनिएको छ ।

बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंक एउटा र वाणिज्य बैंकको हकमा दुई वटा खोल्न अनुमति दिएको छ। पत्रकारको हकमा पनि सूचना विभागको कार्ड अनिवार्य गरिएको छ। सूचना विभागको कार्ड नहुनेका लागि भने मिडिया हाउसको सिफारिसमा प्रशासनको अनुमति चाहिने बताएको छ ।

केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्‍याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ।