विषाक्त स्यानिटाइजर उत्पादन गर्ने खत्री पक्राउ, १० ट्रक उत्पादन सामाग्री वरामद

everest kitchen

काठमाडौं । कोरोना महामारीदेखि यता अनिवार्य प्रयोग हुने स्यानिटाइजर स्वास्थ्यका लागि हानिकारक हुने किसिमको उत्पादन भएर बजार पुग्ने गरेको छ । यसरी उत्पादन हुने तीनवटा कारखानामा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार छापा मारेको हो ।

महाशाखाले सातदोबाटो, त्रिपुरेश्वर र क्षेत्रपाटीमा रहेको स्यानिटाइजर उत्पादन केन्द्रमा एकैपटक छापा मारेको थियो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार सातदोबाटोस्थित मुख्य कारखानामा छापा मारेको थियो ।

कम्पनीले ‘प्लस ७५’ नामको स्यानिटाइजर उत्पादन गर्ने गरेको पाइएको छ । कम्पनीका सञ्चालक आशिष प्याकुरेल र मार्केटिङ अफिसर विश्वास खत्रीलाई पक्राउ गरेको छ । साथै १० ट्रक स्यानिटाइजरलगायत सामाग्री पनि वरामद गरेको छ ।

बजारमा स्यानीटाइजरको माग बढेपछि देशभर ३ सयभन्दा बढी स्यानिटाइजर उद्योग खोलिएका छन् । तर औषधी व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालन अनुमति लिएको केही समय अगाडिको रिपोर्टमा देखिएको थियो । प्याकुरेलले सञ्चालन गरेको यस स्यानिटाइजर कम्पनीले पनि अनुमति नलिएको एसएसपी खापुङले जानकारी दिएका छन् ।

छापा मार्दा विषाक्त रसायन मिथानल ड्रम पनि पाइएको छ । स्यानिटाइजर उत्पादन प्रयोग हुने इथानल र मिथानलको प्रकृति झण्डै मिल्दोजुल्दो हुन्छ । तर मिथानलले मानिसको ज्यानै जान सक्ने राष्ट्रिय औषधि प्रयोगशालाले उल्लेख गरेको छ ।