प्रधानमन्त्री पद रिक्त छ, हठपूर्वक बसेको मात्र हो : अधिवक्ता राजवंशी

everest kitchen

 

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरुमा सुनुवाइ आरम्भ गरेको संवैधानिक इजलासमा रिट निवेदकले प्रधानमन्त्री पद अहिले पनि रिक्त रहेको दावी गरेका छन् ।

शुक्रबार संवैधानिक इजलासमा रिट निवेदक एवं अधिवक्ता पूर्ण राजवंशीले संविधानको धारा ७७ (१ ख) बमोजिम प्रधानमन्त्री पद रिक्त भएको दावी गरे ।

उनले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको प्रधानमन्त्रीले आफू नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिन जानुपर्ने प्रस्ट पारे । ‘आफैले मत पाउन सकिनँ भनेपछि संसदमा प्रधानमन्त्रीले विश्वासको मत गुमाएको अवस्था हो,’ उनले भने, ‘दुई पटक विश्वासको मत गुमाएको अवस्थामा धारा ७६ को उपधारा ५ बमोजिम फेरि उसैलाई प्रधानमन्त्री बनाउने आधार रहन्न ।

​केपी शर्मा ओलीले हठ र जिद्दीपूर्वक प्रधानमन्त्री पदमा बसेको राजवंशीको भनाइ छ । ‘दुई पटक विश्वासको मत गुमाएर तेस्रो पटक फेरि प्रधानमन्त्रीमा बस्ने हक यो संविधानले कसैलाई दिएको छैन,’ उनले भने ।

उनले शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दावी पेश गरेका कारण उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुको विकल्प नरहेको पनि उनलेे दावी गरे । ‘एकातिर दुई पटक विश्वासको मत लिन नसकेको व्यक्तिले गरेको दावी छ,’ उनले भने, ‘अर्कोतिर बहुमत सांसदले हस्ताक्षरसहित देउवालाई समर्थन गरेको अवस्था छ, त्योभन्दा बलियो आधार अरु हुन सक्दैन ।’