नेमारले महिला कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप

everest kitchen

एजेन्सी । ब्राजिलका स्टार फुटबल खेलाडी नेमार एक यौन कान्डको आरोपमा परेका छन । उनीमाथि स्पोटर्सवेयर कम्पनी नाईकीकी एक महिला कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप छ । स्पोटर्सवेयर कम्पनी नाइकीले नेमारले उक्त आरोपको अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएको छ । त्यसकारण कम्पनीले गत वर्षबाट नेमारसँगको सम्झौता पनि समाप्त गरेको छ । तर नेमारका प्रवक्ताले यो सम्झौता आर्थिक कारणले गर्दा समाप्त भएको बताएका छन । यो कान्डमा मौन रहेका नेमारले अन्ततः यस मामलामा आफ्नो मौनता तोडेका छन्। उनले उक्त यौन कान्डको बारेमा आफ्नो इन्स्टाग्राममा लेखे, “मलाई आफ्नो बचावको बारेमा बोल्न मौका पनि दिइएन। मैले आरोप लगाउने महिला कर्मचारीसँग कुनैपनि सम्बन्ध राखेको थिइन। उनको वास्तविक पीडाको कारण थाहा पाउन मलाई उनीसँग कुरा गर्ने मौका पनि दिईएन । एक कर्मचारीको रूपमा उनले कम्पनीबाट सुरक्षा पाईनन। साथै एक प्रायोजित एथलीट हुँदाहुँदै पनि, मेरा ईच्छाहरू सुरक्षित छैनन्।”

उनले अगाडि लेखे, “मैले यो बुझ्न सकिरहेको छैन कि, किन यती ठूलो कम्पनीले कसरी आफ्नो व्यापार सम्बन्ध यसरी बिगार्न सक्छ, जबकि यो सम्झौता कागजमा आधारित रहेको हुन्छ। कसैले कसरी यो सम्झौता परिवर्तन गर्न सक्दछ ? यो कुरा एकदम स्पष्ट छ कि १३ वर्षको उमेरमा मैले मेरो पहिलो सम्झौतामा हस्ताक्षर गरेको थिए। मलाई मेरो करारको बारेमा कसैसँग कुरा नगर्नू भनेर सँधै चेतावनी दिइएको थियो। किनभने सम्झौताहरू गोप्य हुन्छन्। तर नाइकीले यो कुराहरुको वास्ता गरेन र आरोपित यौन उत्पीडनको मुद्दाको छानबिनमा सहयोग नगरेको आरोप लगाएर सम्झौता रद्द गर्‍यो। यो एकदम झूटो हो।”

यो घटना सन २०१६ को हो, जब पीएसजी क्लबका स्टार फारवर्ड नेमारको स्पोटर्सवेयर कम्पनी नाईकीसँगको सम्झौता चलिरहेको थियो। उक्त समयमा नेमार मार्केटिङको सिलसिलामा एक कार्यक्रमका लागि न्यूयोर्क गएका थिए। उनीमाथि आरोप लगाइएको छ कि उनले स्पोटर्सवेयर कम्पनीको एक महिला कर्मचारीसँग अश्लील हरकत गरेका थिए। वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार नेमारले उक्त महिला कर्मचारीसँग जबरजस्ती मुखमैथुन गरेका थिए। उक्त महिला कर्मचारीले नेमार र उनको स्टाफको लागि कार्यक्रमहरु व्यवस्थित गर्ने काम गर्थिन । वाल स्ट्रिट जर्नलले साक्षीहरूको आधारमा यो घटनामा नेमार दोषी रहेको दावी गरेको छ।

रिपोर्ट अनुसार पिडित महिलाले सन २०१८ मा नेमारको अश्‍लील कार्यको बारेमा उजूरी दर्ता गरिन, त्यसपछि नाईकीले पनि ती आरोपहरूको छानबिन गर्न कानुनी प्रक्रिया अगाडि बढाएको थियो । तर नाईकीले नेमारले उक्त अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएको छ । नेमारले आफूमाथि लगाएको यी आरोपहरूको खन्डन गरेका छन । नेमार र स्पोटर्सवेयर नाईकीबीचको सम्झौता गतवर्ष मात्र समाप्त भएको छ। यी दुबैले करिब १५ बर्ष सँगै काम गरे। नेमार १३ बर्षको उमेरदेखि नै नाईकीसँग सम्बद्ध थिए। नेमारले यौन कान्ड घटनाको अनुसन्धानमा सहयोग नगरेका कारण कम्पनीले गत वर्ष सम्झौता समाप्त गरेको नाईकीले जनाएको छ । यद्यपि नेमारका प्रवक्ताले यो सम्झौता आर्थिक कारणले गर्दा समाप्त भएको जनाएका छन। यस बीचमा नेमारले जर्मन ब्रान्ड प्यूमासँग सम्झौता गरेका छन्।