इन्द्रवज्रा

everest kitchen

छन्द: इन्द्रवज्रा

पौडेल विमुन्स
त्यो रक्त पोखे धरणी बचाऊँ
भन्दै लडे वृद्ध विशाल दाउ
बढ्दै गयो दुष्कर को रजाइँ
के पाइयो खै गणतन्त्र ल्याइ।१

देख्दै छु नेता खुब सल्किएको
आएन सच्चा मन कल्पिएको
खट्नेहरू छन् परदेश भाइ
के पाइयो खै गणतन्त्र ल्याइ।२

फाटेछ आमा फरिया मजेत्रो
छोरा विदेशी भरिया बनेको
बाँझो बन्यो खेत कुलो नपाइ
के पाइयो खै गणतन्त्र ल्याइ।३

शिक्षा छ व्यापार बनेर डुब्दै
छन् स्वास्थ्य कर्मी धन मात्र लुट्दै
सत्ता उनैको गुणगान गाइ
के पाइयो खै गणतन्त्र ल्याइ।३

पर्दैन राम्रो अब काम गर्न
नाता भए पुग्दछ आज चर्न
सम्मान आफ्ना दलको कमाइ
के पाइयो खै गणतन्त्र ल्याइ।।४

दिन्थे पुरस्कार चिनेर सच्चा
खै के भयो लाज स्वयं छ लज्जा
झोला भिरे मिल्दछ आज साइ
के पाइयो खै गणतन्त्र ल्याइ।५