मलेसिया तथा खाडीबाट आउनेले पाँच दिन होटेल क्वारेन्टिन बस्नुपर्ने

everest kitchen

काठमाडौं । खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्ने भएको छ । वैदेशिक रोजगारीबाट आउने यात्रुलाई लक्षित गरेर सरकारले यस्तो मापदण्ड तयार पारेको हो ।

सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एक/एक वटा दुईतर्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेको छ । अनुमति खुला गरेसंगै विदेशबाट आउने यात्रुले पाँच दिन होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । होटेल क्वारेन्टिनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डले गर्ने भएको छ । यसपटकको होटल क्वारेन्टाइन घना बस्ती भन्दा बाहिर रहने बताएको छ ।

साथै, दीर्घरोगी, शारीरिक रुपमा अशक्तहरुले भने अस्पतालबाट समस्या पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर जान पाउनेछन् । त्यस्तै, ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र तीनका आमा–बुबा पनि स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्ने गरी घर जान पाउनेछन् ।