त्रिवेणीका निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा अनुगमन : लापरबाही गर्नेलाई चेतावनी

everest kitchen

हिमाल टाईम्स
रुकुम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका स्थित विभिन्न क्लिनिक तथा औषधि पसलहरुमा अनुगमन भएको छ । कोभिड-१९ पोजेटिभ बिरामीलाई टाईफाइड भएको भन्दै उपचार गर्ने गरेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, स्वास्थ सेवा कार्यालय र त्रिवेणी गाउँपालिकाले संयुक्त रुपमा निजी अस्पताल, क्लिनिक तथा औषधि पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा त्रिवेणी -३ र ६ स्थित झुल्नेटा बजार स्थित कबि हेल्थ केयर क्लिनिक, फेमस पोलिक्लिनिक र अमर मेडिकल हलको अनुगमन गरिएको थियो । तीनीहरु मध्ये केहीले डाक्टरको सिफारिस बिना औषधि बेचेको, उचित तरिकाले फोहोर मैला व्यवस्थापन नगरेको, मिति सकिएका औषधिहरु राखेको, स्तरीय ल्याब परिक्षण किट तथा मेसिन नभएको, ल्याब परिक्षण नै नगरी शुल्क असुल गरेकोसमेत पाईएपछि अनुगमन टोलिले चेतावनी दिएर सुधारको लागि समय दिएको छ ।

त्यस्तै अनुगमन टोलीले गाउँपालिका -२ सिम्रुतु बजार स्थित त्रिवेणी सिटी हस्पिटल प्रालि, मंगल मेडिकल स्टोर, ओली मेडिकल स्टोरको अनुगमन गरेको थियो । अनुगमनको क्रममा तीमध्ये केहीले ल्याब परिक्षण नै नगरेपनि साइनबोर्डमा ल्याब परिक्षण उल्लेख गरेको, दर्ता नै नगरी ल्याब परिक्षण सुरु गरेको, एउट‌ औषधिलाई फरकफरक शुल्कमा बिक्री गरेको पाईएको अनुगमन टोलिले जनाएको छ ।

अनुगमन टोलीका एक सदस्यका अनुसार यस्तो किसिमको अनुगमन पहिलोपटक भएकोले सुधारको लागि केही समय दिएको र यस्तो समस्या अर्कोपटक दोहोरीए कारबाही गरिने उनले बताए । ती सदस्यका अनुसार कतिपयले मापदण्ड पुरा गर्ने प्रयास गरेपनि पुरा नगरेकोले मापदण्ड पालना गर्न निर्देश गरिएको छ । मिति सकिएको औषधिहरु भने नस्ट गर्न लगाइएको थियो ।

अनुगमन टोलीले अनुगमनका क्रममा ती संस्थाहरुलाई कोभिड-१९ का सम्भावित लक्षण भएका बिरामीहरुलाई उपचार गर्ने भन्दै भर्ना गर्ने, जथाभावी औषधि प्रयोग गर्ने लगायतका कार्य नगर्न निर्देशन गरेको छ । कोभिड -१९ मिल्दोजुल्दा लक्षण भएका बिरामीलाई जिल्ला अस्पताल सेल्ले र गाउँपालिका अस्पतालमा पठाउन समेत टोलीले अनुरोध गरेको थियो ।

अनुगमन टोलीसंग मेडिकल व्यवसायीहरुले आफुहरुले सरकारले तोकेको मापदण्डअनुसार कार्य गर्ने बताएका छन् । विभिन्न चुनौतीका बाबजुद आफुले सेवा सञ्चालन गरेको र कतिपय अवस्थामा भएका गल्तीहरुलाई सुधार गरेर चुस्त दुरुस्त सेवा सञ्चालन गर्ने प्रयासमा रहेको एक मेडिकल व्यवसायीले बताए ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवा, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम डाक्टर राजकुमार भुजेल, फार्मेसी अधिकृत सुरज सुनार, बरिस्ठ ल्यब असिस्टेन्ट बिरेन्द्र खड्का , जनस्वास्थ्य अधिकृत कालि बहादुर ओलीको सहभागीता रहेको थियो ।

त्यस्तै त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष निर्मला विष्ट “खडका”, कार्यकारी प्रमुख प्रशासकीय अधिकृत रमेश पुन, त्रिवेणी गाउँपालिका अस्पतालका डाक्टर छवि नेपाली, गाउँपालिकाका सह-स्वास्थ संयोजक बिर बहादुर डाँगी, गाउँपालिका अस्पतालका ल्याब टेक्नेसियन भरत बिक्रम बुढाथोकी लगायतको सहभागीता रहेको थियो ।