महामारीमा संस्थाले बाँडेको राहतमा बिचौलिया घुसेर गरिबसँग पैसा उठाए

everest kitchen
एक संस्थाले वितरण गरेको राहत लिदै स्थानीयहरु

मकवानपुर । कोभिड १९ को संक्रमण बढेसँगै निरन्तर निषेधाज्ञा जारी रहेपछि अभियान्ता तथा बिभिन्न संघसंस्थाहरु विपन्न गरिबहरुको सारथी बनिरहेका छन् । निषेधाज्ञाले समस्यामा परेका परिवार र विकट क्षेत्रका जनतालाई सहयोग गर्न उनीहरु सक्रिय छन । अधिकांश चेपाङ र तामाङ समुदायको बसोबास रहेको राक्सिराङ गाउँपालिकामा पनि अभियान्ता तथा संघसंस्थाले राहत वितरण गरिरहेका छन् ।

सहयोगी दाताहरुले निशुल्क राहत समाग्री वितरण गरिरहेको भए पनि राहत लिने गरिब विपन्न जनता भने ठगिने गरेको पाइएको छ । उनीहरुले राहत लिनका लागि चामल प्रतिबोरा एक सयदेखि पाँच सय रुपैयासम्म बुझाएको पाइएको हो ।

बुधवार राक्सिराङ गाउपालिका वडा नं ५ मा नेपाल पुष्प समाजले ३ सय घरपरिवारका लागि राहत वितरण गरेको थियो । वडा क्षेत्र को सम्पुर्ण घरलाई राहत दिने योजनाका साथ पहिलो चरणमा लाईसिराङमा ३ सय घरलाई राहत वितरण चल्दै गर्दा राहत लिने गरिबहरुसँग रकम असुलेको तथ्य भेटियो ।

राहत वितरण गर्न दाताहरुसँगै पुगेका तत्कालीन राक्सिराङ गाविसका अध्यक्ष कृष्णबहादुर चेपाङसँग राहत लिन आएका मान बहादुर मोक्तानले दुख पोखे : ‘अरुसँग चै पैसा लिएनछ, हामीसँग मात्र उठाएछ । हामीले मात्र पैसा तिर्नुपर्दा राम्रो लागेन ।’ यो सुनेपछि झस्किएका चेपाङले सोधे : ‘ कसले उठायो पैसा, कति उठायो ? यो राहत निशुल्क बाँडिएको हो ।’

मोक्तानले ‌जवाफ दिए : ‘हामीसँग आजै बिहान मात्र उठाएको, एक घरको ५ सय ।’ उनले पैसा उठाउने व्यक्तिसमेत चिनाए ।

गुनासो सुनेपछि चेपाङले राहत लिन आएका व्यक्तिहरुसँग थप बुझे । सो क्रममा केहिले एक सय, केहिले २ सय र केहिले ५ सय रकम बुझाएको बताए । केहिसँग भने पैसा नमागिएको पाइयो ।

एक बोरा चामल पाएका बिष्णुमाया प्रजाले २ सय बुझाएको सुनाइन् । ‘पैसा माग्यो, हामीले दियौ’ उनले भनिन् । पैसा दिएकाहरुले स्थानीय दुई युवाले पैसा उठाएको बताए । उनीहरु परिचित र गाँउले नै हुन ।

चेपाङले निशुल्क वितरित राहतको नाममा पैसा उठाउनु गलत रहेको बताउँदै पैसा तत्काल फिर्ता गरिनुपर्ने बताए । उनले गरिबहरुको पैसा तत्काल फिर्ता गराउन राहत वितरणमा सहजीकरण गरिरहेका सरोकारवालाको ध्यानाकर्षण गराए ।

राहत वितरण गर्न आइपुगेका नवोदय विद्यालय ‌चितवनका प्रतिनिधि चिरायथ माइकलले सम्पुर्ण खर्च आफुहरुले ब्यहोरेको स्पष्ट पारे । शान्ति मेड नेपालको सहयोग र नवोदयको समन्वयमा निशुल्क राहत बाँडिएको उनले बताए । राहत खरिददेखि ढुवानीसम्म आफुहरुले खर्च गरेको बताउँदै उनले पंत्तिकारकै अगाडी २ वटा बोलेरो र एक वटा ट्याक्टर को भाडा तिरे ।

यसरी स्थानीयलाई एक रुपैयाँ पनि खर्च नपर्ने राहत वितरण गर्दासमेत गलत नियतले पैसा उठाइएकोप्रति राहत बाँड्ने ठाउमै रहेका नेपाल चेपाङ संघ बागमती प्रदेशका अध्यक्ष खुसीलाल चेपाङले आक्रोश पोखे । उनले आफुसँग पनि गुनासो आएको बताउँदै पैसा उठाउनेलाई तत्काल फिर्ता गर्न भनेको बताए । राहत बाँडन सहजीकरण गरिरहेका वडा अध्यक्ष चन्द्र सिंह प्रजाले पनि गुनासो सुनिएकाले तत्काल फिर्ता गर्नुपर्ने बताए । उनले भने : ‘गलत नियतले हामीलाई थाहा नदिई पैसा उठाइयो भन्ने सुनियो, तत्काल फिर्ता गराउन पहल गर्छु ।’

स्थानीय सरकारको प्रतिनिधि वडा अध्यक्ष कै उपस्थितिमा राहत वितरण हुँदा समेत गलत नियतले पैसा उठाएको पाइएपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । यसले गाउँगाउँमा विपतको समयमा पनि ठगीधन्दा कसरी मौलाइरहेको छ भन्ने प्रस्ट पारेको छ ।

संबिधान सभा सदस्य गोविन्दराम चेपाङले राक्सिराङमा विगतमा पनि यस्ता ठगी हुने गरेको बताए । उनले निशुल्क बाँडिने राहतमा समेत ठगी भएकोबारे आफुलेसमेत जानकारी पाएको उल्लेख गरे । नागरिक समाजका अगुवा तथा पत्रकार शिवकुमार कासीले यस्ता घटनाबारे आफुले विगतदेखि आवाज उठाएको बताए । उनले यसअघि भुकम्प, नाकाबन्दी, गतबर्षको लकडाउनमा समेत यस्ता ठगी गतिविधी मौलाएको उल्लेख गरे ।