यूरो कपमा सबैभन्दा बढी र कम उमेरका खेलाडीहरु

everest kitchen

काठमाडौं । फिफा विश्पकप पछि फुटबलको दोस्रो ठुलो ग्लोबल प्रतियोगिता हो यूरो कप । फ्रान्स, जर्मनी, स्पेन, इटली, पोर्चुगल, ईङल्यान्ड, बेल्जियम जस्ता युरोपका ठुला देशका फुटबल टोलीहरुले यो प्रतियोगितामा सहभागिता जनाउने गर्दछन । जुन ११ देखी जुलाई ११ सम्म युरोपको ११ देशमा हुने यो प्रतियोगिताको हरेक टोलीमा २६–२६ खेलाडीहरु रहेका छन । सामान्यता एक टोलीमा २३ खेलाडीहरु हुन्छन तर यो पटक कोरोना महामारीलाई मध्यनजर गर्दै हरेका टोलीले २६ खेलाडीहरु राख्न पाउने छुट दिईएको छ । यस पटकको युरो कपमा सबैभन्दा बढी र सबैभन्दा कम उमेर भएका खेलाडी र टोली कुन हो ? हामी यसको बारेमा चर्चा गर्नेछौं ।

तीन पटकको युरो कप च्याम्पियन स्पेन यसपटक प्रतियोगितामा सबैभन्दा युवा टोलीको रुपमा रहेको छ । स्पेनका २६ खेलाडीहरुको औसत उमेर २४.१ बर्ष रहेको छ । बार्सिलोनाका मिडफिल्डर पेड्री (१८ बर्ष) स्पेनका सबैभन्दा युवा खेलाडी हुन । सर्जियो बास्केट्स र जोर्डी अल्बा टोलीमा सबैभन्दा बढी उमेर भएका खेलाडी हुन । दुबैको उमेर ३२ बर्ष रहेको छ । प्रतियोगितामा युवा टोली उतारनेमा टर्की दोस्रो स्थानमा रहेको छ । टर्कीका खेलाडीहरुको औसत उमेर २४.६ बर्ष रहेको छ । ईङल्यान्डको टोली यो लिस्टमा तेस्रो स्थानमा रहेको छ । उसको खेलाडीहरुको औसत उमेर २४.८ बर्ष रहेको छ । १७ बर्षीय जुड बेलिन्घम टोलीका सबैभन्दा युवा खेलाडी हुन । जुड पछिल्लो १४० बर्षमा खेलमा पुरै ९० मिनेट टिकेर खेल्ने ईङल्यान्डका खेलाडी बनेका छन । उनी भन्दा अगाडी सन १८८१ मा थस्र्टन रोस्ट्रोनले यो उपलब्धि प्राप्त गरेका थिए ।

युरो २०२० मा सबैभन्दा बढी उमेरका खेलाडीहरु स्वीडेनले उतारेको छ । स्वीडेनका खेलाडीहरुको औसत उमेर २९.२ बर्ष रहेको छ । दोस्रो स्थानमा बेल्जीयम टोली रहेको छ । बेल्जीयमका खेलाडीहरुको औसत उमेर २८.७ बर्ष रहेको छ । साथै बेल्जीयमका खेलाडीहरुको कुल खेल १३३८ रहेको छ । अर्थात यो टोली अन्तराष्ट्रिय खेलमा सबैभन्दा अनुभवी रहेको छ । बेल्जीयमका चार खेलाडीहरुले अहिलेसम्म १०० भन्दा बढी अन्तराष्ट्रिय खेल खेलिसकेका छन । टोलीका ड्रायस मर्टेसले यदि रसिया बिरुद्वको खेलमा मौका पाएमा यो उनको ९९ औं खेल हुनेछ ।

नेदरल्यान्डका गोलकिपर मार्टिन स्टेकेलेनबर्ग युरो २०२० मा सबैभन्दा बढी उमेर भएका खेलाडी हुन । उनको उमेर ३८ बर्ष रहेको छ । युरो कप फाईनलको ईतिहासमा सबैभन्दा बढी उमेरको खेलाडीको किर्तिमान हंगेरीका ग्याबोर किरालीको नाममा रहेको छ । उनले २०१६ को युरो कप खेल्दा ४० बर्षभन्दा माथि उमेरका थिए । पोल्यान्डका क्यास्पर कोज्लोवस्की यो प्रतियोगिताको सबैभन्दा युवा खेलाडी हुन । उनी मात्र १७ बर्षका छन र २०२१ को अक्टुबर १६ मा १८ बर्षमा पाईला टेक्दैछन । ईङल्यान्डका जुड बेलिन्घम दोस्रो सबैभन्दा युवा खेलाडी हुन । उनी पनि १७ बर्षका छन र जुन २९ मा १८ बर्षमा पाईला टेक्दैछन । यो युरो कप फाईनलको ईतिहासमा पहिलो पटक १८ बर्ष भन्दा कम उमेरका खेलाडीले सहभागिता जनाउदै छन ।

युरो २०२० मा क्लबका प्रतिनिधिहरुको कुरा गर्दा च्याम्पियन लिग विजेता चेल्सी र म्यान्चेस्टर यूनाईटेड सबैभन्दा अगाडी रहेका छन । यी दुबै टोलीका १५–१५ खेलाडीहरु प्रतियोगिता खेलिरहेका छन । जर्मन क्लब बार्यन म्युनिखका १४ खेलाडीहरु खेलिरहेका छन । घरेलु मैदानमा खेलाडीहरु तयार गरिएको संख्याको आधारमा ईङल्यान्ड सबैभन्दा अगाडी रहेको छ । ईङल्यान्डका २६ खेलाडीहरु मध्ये २३ ले ईङलिश प्रिमियर लिगमा खेल्ने गर्दछन । ईटलीका २२ खेलाडीहरु सिरी–ए मा खेल्ने गर्दछन । रुसको टोलीमा रुसी लिगका २२ खेलाडीहरु रहेका छन । यो मामलामा फिनल्यान्ड र स्लोवाकिया सबैभन्दा पछाडी रहेका छन । दुबैको घरेलु लिगमा खेल्ने १–१ खेलाडी मात्र राष्ट्रिय टोलीमा रहेका छन ।