श्रीलंका भ्रमणका लागि भारतीय क्रिकेट टोलीको घोषणा

everest kitchen

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले श्रीलंका भ्रमणका लागि शिखर धवनको नेतृत्वमा २० सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीको उप–कप्तानको जिम्मा तिव्र गतिका बलर भुवनेश्वर कुमारलाई दिईएको छ । आईपीएलको पछिल्लो केही सिजनमा लोभलाग्दो प्रदर्शन गरेका बायाँहाते ब्याटसम्यान नितिश राणालाई पहिलो पटक भारतीय टोलीमा सामेल गरिएको छ । साथै आईपीएलको पछिल्लो सिजनमा आफ्नो खेल मार्फत तहल्का मच्चाउने युवा ब्याटसम्यान देवदत्त पडिक्कल र ऋतुराज गायकवाडले पनि टोलीमा स्थान बनाएका छन ।

आईपीएलमा राजस्थान रोयल्सबाट डेब्यु गरेका तिव्र गतिका बलर चेतन साकरियाले पनि भारतीय टोलीमा स्थान बनाएका छन । यसका साथै अलराउन्डर कृष्णप्पा गौतमको पनि भारतीय टोलीमा ईन्ट्री भएको छ । कुलदीप यादव, वरुण चक्रवती र नवदीप सैनीले टोलीमा दोस्रो पटक स्थान बनाएका छन । विराट कोहली, रोहित शर्मा, जसप्रीत बुमराह जस्ता नियमित खेलाडीहरु बिना भारतीय टोलीले श्रीलंका भ्रमण गर्दैछ । शिखर धवनले पहिलो पटक भारतीय टोलीको कमान सम्हाल्ने छन । उनले यसअघि सैयद मुश्ताक टी–२० ट्रफीमा दिल्लीको कमान सम्हालेका थिए । यो टोलीमा धवन सबैभन्दा सिनीयर खेलाडीको रुपमा रहेका छन । भुवनेश्वर कुमार, हार्दिक पाण्डया, मनीष पाण्डे र युजवेन्द्र चहल पनि टोलीका सिनीयर खेलाडीको रुपमा रहेका छन ।

भ्रमणमा भारतीय टोलीले श्रीलंका बिरुद्व ३ एकदिवसीय र ३ टि–२० अन्तराष्ट्रिय खेलको सिरिज खेल्नेछ । एकदिवसीय खेलको सुरुवात १३ जुलाईबाट हुनेछ, जबकी टि–२० खेल २१ जुलाईबाट सुरु हुनेछ । एकदिवसीय खेलहरु १३, १६ र १८ जुलाईमा हुनेछ भने टि–२० २१, २३ र २५ जुलाईमा हुनेछ । कोराना महामारीका कारण सबै खेलहरुको आयोजना कोलम्बोको के आर प्रेमदासा स्टेडियममा हुनेछ ।

भारतीय टोली ः शिखर धवन (कप्तान), भुवनेश्वर कुमार (उप–कप्तान), पृथ्वी शा, देवदत्त पडिक्कल, ऋतुराज गायकवाड, सूर्य कुमार यादव, मनिष पाण्डे, हार्दिक पाण्डया, नितिश राणा, इशान किशन (विकेट किपर), संजु स्यामसन (विकेट किपर), युजवेन्द्र चहल, कुलदीप यादव, राहुल चाहर, कुणाल पाण्डया, कृष्णप्पा गौतम, वरुण चक्रवर्ती, दिपक चाहर, नवदिप सैनी र चेतन साकरिया ।